
सरकारको कामको प्रत्यक्षरुपमा देखिने संयन्त्र प्रहरी भएकाले बोली व्यवहारमा सुधार गर्न महानगरीय प्रहरी कार्यलयका प्रमुख प्रहरी नायव महानिरिक्षक विश्वराज पोखरेलले निर्देशन दिएका छन् ।
डीआइजी पोखरेलले मंगलवार बिहान महानगरीय प्रहरी परिसरमा अपराध महाशाखाको निरीक्षण गर्दै प्रहरीलाई नम्र र शिष्ट हुन निर्देशन दिएका हुन् ।
महानगरीय प्रहरी प्रमुख पोखरेलले राजधानीमा सबै जिल्लाका मानिसहरूको बसोबास हुने, प्रहरीले गरेको कार्य वा व्यवहारले समग्र संगठनको प्रतिनिधित्व गर्ने र सो कुरा अन्तराष्ट्रिय जगतमा समेत सम्प्रेषण हुने बताएका हुन् ।
पोखरेलले निर्देशन दिँदै भने, ‘प्रहरी कार्यालयमा आउने सेवाग्राही पीडित भएर नै आउने हुनाले उहाँहरूमाथि परेको पीर मर्कालाई आफूलाई नै परेको पीडा हो भन्ने सम्झेर सरल छिटो छरितो तरिकाले सेवा प्रवाह गर्नुपर्छ ।’
पोखरेलले पाइला-पाइलामा नागरिक, सरोकारवाला निकाय, राज्य संयन्त्र साथै सरकारबाट समेत निरिक्षण भइरहेको हुनाले गलत गर्ने प्रहरी कर्मचारीलाई गल्ती नगर्ने दोहोर्याउदै व्यक्तिगत स्वार्थ पुरा गर्न लोभ लालचमा पर्नेलाई सेवाबाट हटाउनसमेत आफू पछि नपर्ने बताए ।
कानूनको उल्लंघन गर्ने जो कोही भएता पनि ओहदा नहेरीकन कानूनी दायरामा ल्याउन निर्देशन दिँदै पोखरेलले कानूनको सही तरिकाले निर्दयतापूर्वक कार्यान्वयन गर्दा जस्तोसुकै दबाब आएपनि पछि नहट्न निर्देशन दिए ।
पोखरेलले विभिन्न अपराधिक र प्रतिबन्धित तत्वहरूले शान्ति सुरक्षामा खलल पार्न सक्ने हुनाले त्यसतर्फ सचेत रहँदै शान्तिसुरक्षा मजबुत बनाउन पनि प्रहरी कर्मचारीलाई दिन रात नभनी त्रुटीरहित जिम्मेवारी बहन गर्न समेत निर्देशन दिएका छन् ।