२३ जेठ २०८३, शनिबार

सीमा नाकामा गस्ती बढेपछि राजश्वमा वृद्धि

माघ १४, २०७६
सीमा नाकामा गस्ती बढेपछि राजश्वमा वृद्धि

भारतसँग सीमाना जोडिएको पश्चिम नवलपरासीका नाकाहरुमा सुरक्षाकर्मीको गस्ती बढेसँगै राजश्वमा वृद्धि भएको पाइएको छ ।

गस्ती बढेपछि अघिल्लो एक वर्षको तुलनामा यसवर्षको ६ महिनामै तेब्बर राजश्व वृद्धि भएको हो ।

जिल्लाको महेशपुर, भूजहवा, विस्नुपुरा, झोलनीपुरलगायतका नाकाहरुबाट चोरीका सामानहरु नेपाल भित्रिने गरेका छन् ।

मुल बाटो नभई चोरी बाटो भएर तस्करी बढेपछि त्यस क्षेत्रमा समेत सशस्त्र प्रहरीले पैदल र सवारीसाधनबाट गस्ती बढाएपछि चोरीका सामानहरु पक्राउ पर्न थालेका हुन् ।

ती नाकाहरुबाट लत्ताकपडा, मोटर पार्टससहित मेशिनरी सामान, पशुचौपायलगायतका सामानहरु नेपाल भित्रिने गरेका छन् । 

'मुख्य सडकमा निगरानी बढाएपछि तस्करहरुले चोरीको मार्ग प्रयोग गर्न थालेका थिए । त्यहाँ पैदल र सवारीसाधनको गस्ती बढाएपछि चोरीका सामानहरु धमाधम पक्राउ पर्न थालेका छन्,' सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण हेडक्वाटर पश्चिम नवलपरासीका उपरीक्षक भरत खनियाले भने ।

गस्ती बढेपछि चोरी निकासीमा कमी आएको खनियाको दाबी छ । ‘विपद् व्यवस्थापनसँगै सीमा नाकाबाट हुने चोरी निकासी र अवैध पैठारीलाई प्राथमिकतामा राखेर काम गरिरहेकाछौं । हामी आफैं मात्र होईन भारतीय एसएसबीसँग सहकार्य गरेर संयुक्त गस्ती मार्फत तस्करीलाई रोक्ने गरेका छौं,’ उपरीक्षक खनियाले भने ।  

अहिले सीमा नाकाहरुमा शसस्त्र  प्रहरीले बोर्डर आउट पोष्ट(बीओपी)को संख्या समेत थप्ने भएको छ । जिल्लाको भूजहवा, गेर्मी र सुस्ताको रामनगरमा बीओपी संख्या थप्नका लागि निर्णय भएको खनियाले जानकारी दिए ।

बीओपीको संख्या थपेपछि चोरी निकासीमा अझ बढी नियन्त्रण हुने उपरीक्षक खनियाले बताए । दिउँसो भन्दा बढी रातको समयमा भारतबाट लत्ताकपडा र मेशिनरी सामान भित्रिने गरेको सूचना आएकाले उक्त समयमा समेत गस्ती बढाइएको उनले जानकारी दिए ।

गस्तीका क्रममा सशसस्त्र प्रहरीले यसवर्षको साउनदेखि पुस मसान्तसम्म १ करोड ७४ लाखको सामान बरामद गरेर भन्सार कार्यालय बुझाएको जनाएको छ । गत आ.व.को एक वर्षमा ४६ लाख ६७ हजारको सामान बरामद भएर भन्सार पठाइएको थियो ।

गस्ती बढेपछि राजश्वमा समेत तेब्बरले वृद्धि भएको खनियाले बताए । चोरी निकासी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालयले समेत गस्ती संख्या बढाएको प्रहरी उपरीक्षक लालमणि आचार्यले बताए ।

‘रातको समय र दिउँसो समयमा छुट्टा छुट्टै गस्ती परिचालन गरेपछि संभाव्य नाकाहरुबाट चोरीका सामान आउने क्रममा कमि आएको छ ।’ उपरीक्षक आचार्यले बताए । चोरी कार्यमा संलग्न व्यक्तिहरुको निगरानी बढाइएकाले अहिले उक्त कार्यमा कमी आएको आचार्यको दाबी छ ।

salt training

कमेन्ट गर्नुहोस्