१० साउन २०८३, आइतबार
फौजीमा घट्दो आकर्षण

प्रहरीमा जागिर छाड्ने क्रम बढ्दो, सेनामा पनि १० हजार दरबन्दी रिक्त !

माघ १६, २०७६
काठमाडौं
प्रहरीमा जागिर छाड्ने क्रम बढ्दो, सेनामा पनि १० हजार दरबन्दी रिक्त !

नेपालमा सरकारी जागिरमा निकै ठूलो आकर्षण छ । 

दिनरात मेहेनत गरेर पढ्ने र जागिर खाने प्रायः नेपाली युवाको सपना नै रहने गरेको छ ।

निजामतीसहितका विभिन्न सेवा, संस्थान, बैंक तथा वित्तीय संस्था र सुरक्षा निकायहरूमा सरकारी जागिरको अवसर प्राप्त हुन्छ ।

सरकारी जागिरमा एकपटक नाम निकालिसकेपछि हत्तपत्त जागिर छाड्ने गरेको पाइन्न, तर नेपाली सुरक्षा संयन्त्रको हकमा भने त्यो लागू हुँदैन ।

अहिले नेपाल प्रहरीमा राजीनामा दिएर जागिर छाड्नेको संख्या दिनानुदिन बढिरहेको छ । नेपाल प्रहरीको तथ्यांक हेर्ने हो भने हरेका वर्ष जगिर छाड्नेहरूको संख्या बढेको देखिन्छ ।

आर्थिक वर्ष २०७४/०७५ मा २ हजार ५ सय ६४ जनाले जागिर छाडेका थिए भने आर्थिक वर्ष २०७५/२०७६ मा ३ हजार ७३ जनाले जागिर छाडे । त्यसअघि आर्थिक वर्ष २०७४/०७५ मा नेपाल प्रहरीमा ७२ हजार ७ सय ४४ जनाको दरबन्दी रहेकोमा २ हजार ५ सय ६४ जनाले राजीनामा दिएका थिए । यो दरबन्दीको ३.५२ प्रतिशत हो ।

आर्थिक वर्ष २०७५/०७६ मा बढेर ४.०५२ प्रतिशत भयो, अर्थात् ७५ हजार ९ सय २९ दरबन्दी रहेको नेपाल प्रहरीमा ३ हजार ७३ जनाले राजीनामा दिए ।

यसरी बर्सेनि जागिर छाड्नेको संख्या बढिरहे पनि प्रहरी प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्री भने यसलाई सामान्य मान्नुपर्ने बताउँछन् ।

‘नेपाल प्रहरीमा पहिरो नै गएको भनिएको छ, त्यो होइन । ७५ हजार भन्दा धेरै संख्यामा कर्मचारी भएको प्रहरीमा ४ प्रतिशतले राजीनामा दिनु समान्य विषय हो जस्तो लाग्छ,’ डीआईजी क्षेत्रीले लोकान्तरसँग भने ।

संख्यात्मकरूपमा यसको ठूलो महत्त्व होला, नहोला तर प्रहरी कर्मचारीले जागिर छाड्ने कारणतर्फ हेर्ने हो भने यो निकै गम्भीर छ ।

प्रहरीमा मात्र होइन, सेनामा पनि जागिर छाड्ने क्रम रहेको पाइन्छ ।

पछिल्लो १७ महिनामा उपदानमा राजीनामा र राजीनामा दिनेको संख्या १ हजार ६७ रहेको छ ।

नेपाली सेनाको जनसम्पर्क निर्देशनालय जङ्गी अड्डाले उपलब्ध गराएको तथ्यांकमा उपदानमा राजीनामा दिने अधिकृत तहका २९ जना र १ जनाले विना उपदान राजीनामा दिएका छन् ।

प्रहरीको तलबले बालबच्चा पाल्नै गाह्रो !

प्रहरीहरूले जागिर छाड्नुको एउटा प्रमुख कारण, न्यून तलबमान हो ।

महिनाभरी दुःख गरेर प्राप्त हुने तलबले परिवार पाल्न पनि मुस्किल पर्ने भएपछि जागिर छाड्ने गरेको प्रहरी कर्मचारीहरू बताउँछन् ।

विकल्पको खोजीमा प्रहरी कर्मचारीहरूले जागिर छाड्ने नेपाल प्रहरीका पूर्व एआईजी नवराज ढकाल बताउँछन् ।

‘प्रहरीमा जागिर छोडेकाले प्रहरीमाभन्दा राम्रो सेवा सुविधासहित अन्य ठाउँमा जागिर पाउने भएकाले नै छोडका हुन् । आर्थिक स्थितिमा सुधार आउने हुनाले अन्य जागिरमा अकर्षण देखिएको हो,’ पूर्व एआईजी ढकालले लोकान्तरसँग भने ।

जीवनको ऊर्जावान समय प्रहरीमा व्यतित गरेपछि ४५/५० वर्षको उमेरमा के गर्ने भन्ने टुंगो नहुँदा पनि समय छँदै जागिर छाडेर अर्को पेशामा करिअर बनाउने गरेको ढकाल बताउँछन् । 

प्रहरी सेवाको प्रकृति अत्यन्त कठिन र लामो समयसम्म ड्यूटीमा खटिनुपर्ने, घर–परिवारसँग टाढा भएर बस्नुपर्ने भएकाले पनि कतिपयले जागिर छाडेको उनको बुझाइ छ ।

नेपाली सेनाका पूर्व उपरथि बालानन्द शर्मा पनि बाहिर राम्रो विकल्पको खोजीमा सुरक्षा निकायबाट जागिर छाड्ने गरेको बताउँछन् ।

‘पल्टनमा काम गरेकाले पल्टनमाभन्दा बाहिर धेरै सेवासुविधा पाउने भएकाले पनि कतिपयले राजीनामा दिएको देखिन्छ,’ उनले भने ।

'तलबमा सुधार जरुरी छ'

सुरक्षाकर्मीहरूको जागिर छाड्ने क्रमलाई न्यूनीकरण गर्न सेवासुविधामा सुधार गर्नुपर्ने पूर्व एआईजी नवराज ढकाल बताउँछन् ।

‘विषेश गरेर तल्लो तहका कर्मचारीको सेवासुविधा र तलब अकर्षक बनाउनुपर्छ, जागिर अवधिमा आवास गृहको व्यवस्था गर्नुपर्छ,’ उनले भने ।

नेपालको पल्टनमा सेवा सुविधाको बारेमा सोच्नुपर्ने अवस्था रहेको पूर्व उपरथि बलानन्द शर्माले बताए ।

‘पल्टनमा काम गरेकाका लागि बाहिर राम्रो सेवा सुविधामा जागिर पाइन्छ, त्यसैले यता छाडेर बाहिर जाने गरेका छन्,’ शर्मा भन्छन्, ‘सेवासुविधाका लागि सोच्नुपर्ने अवस्था छ ।

राजीनामा दिने साहयक तहका बढी

नेपाल प्रहरी र नेपाली सेनामा साहयक तहका कर्मचारीले बढी राजीनामा दिने गरेको देखिन्छ ।

प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको तथ्यांकलाई हेर्ने हो भने आर्थिक वर्ष २०७५/०७६ मा प्रहरी हवल्दार र प्रहरी जवानको दरबन्दी ५९ हजार १ सय ५० छ जसमध्ये २५ सय ११ जनाले राजीनामा दिएका छन् ।

आर्थिक वर्ष २०७४/०७५ मा पनि सोही समूहका कर्मचारीले राजीनामा दिएका छन् । ५६ हजार ६ सय ७ दरबन्दी रहेकोमा २१ सय ९ जनाले राजीनामा दिएको देखिएको छ ।

यता नेपाली सेनामा प्रधानसेनापति पूर्णचन्द्र थापा आएपछिको तथ्यांकमा साहयक तहको जुनियर कमिसन अफिसर (जेसीओ) अर्थात् पदिक तहका ११ सय ७७ जनाले राजीनामा दिएको देखिएको छ । 

सैनिक जनसम्पर्क निर्देशनालयले उपलब्ध गराएको तथ्यांकमा उपदानसहितको राजीनामामा ११ सय ३१ जना छन् भने उपदान बाहेकको राजीनामा दिने ४६ जना छन् ।

निवृत्तिभरण पक्का भएपछि राजीनामा दिने ७५ सय १० जना छन्, जसमा रथि ६ जना, अधिकृत तहका ६३ जना, जुनियर कमिसन अफिसर (पदिक) १६ सय ८ जना, जुनियर नन् कमिसन अफिसर ५६ सय १५ जना र बन्दोबस्ती कार्य सिपाही २ सय १८ जना रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

नेपाली सेनामा १० हजार दरबन्दी रिक्त

नेपाली सेनामा विभिन्न कारणले हाल १० हजार २ सय २७ दरबन्दी रिक्त छ ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार रथी पदमा ३२ जना, अधिकृतमा १ सय ६३ जना, जुनियर कमिसन अफिसर (पदिक) पदमा १ हजार ७ सय ५२ जना, जुनियर नन् कमिसन अफिसरमा ७ हजार ९ सय ४२ जना र बन्दोबस्ती कार्य सिपाहीमा ३ सय ३८ जना गरी १० हजार २ सय २७ जनाको दरबन्दी रिक्त छ ।

सेनामा ८ सयभन्दा धेरै भगौडा

८ सय ६४ जना भागेर सेनामा नर्फकिएको देखिएको छ ।

विक्रम सम्वत् २०७५ सालको वैशाखदेखि ०७६ साल पुस २३ गतेसम्म नेपाली सेनामा अधिकृत १० जना, पदिक ६ जना, जुनियर नन् कमिसन अफिसर ७ सय ९२ जना र बन्दोबस्ती कार्य सिपाही ५६ जना भागेको सैनिक जनसम्पर्क निर्देशनालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्