नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद कुमारी तुल्सी थापाले किसानका लागि तत्काल राहतका कार्यक्रम घोषणा गर्न सरकारसँग माग गरेकी छन् ।
शुक्रवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद थापाले कृषि प्रदान भनिने देशमा किसानले राहत पाउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
‘बढो दुःखका साथ यो भन्न चाहन्छु कि– कृषिप्रधान भनिने देशमा बर्खामा फौजी किराद्वारा धान सखाप पार्ने र त्यसको मार सम्पूर्ण नेपाली जनतालाई हुने । अहिले हिउँदे बाली लगाउँदा जाडोमा तुसारोका साथै लगातार परेको बेमौसमी पानीले सम्पूर्ण बालीलाई नोक्सान पारेको छ । अहिलेसम्म किसानले राहत पाएका छैनन्, तसर्थ सरकारको ध्यानाकर्षण गराउँदै किसानलाई राहतको घोषणा गर्न माग गर्दछु ।’
उनले सरकार गठन भएको दुईवर्ष बितिसक्दा पनि विभिन्न समयमा बाढी पहिरोमा घरबारविहीन बनेका जनतालाई उचित व्यवस्था हुन नसकेकोप्रति पनि सरकारको ध्यानाकर्षण गराइन् ।
सांसद थापाले २०२४/०२५ सालदेखि बसोवास गर्दै आएका जनताले आजसम्म लालपूर्जा पाउन नसकेका भन्दै उनीहरूलाई लालपूर्जाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन् ।