३१ जेठ २०८३, आइतबार

विभिन्न दुर्घटनामा परी ४ जनाको मृत्यु

विभिन्न दुर्घटनामा परी ४ जनाको मृत्यु

मोटरसाइकल चालकको मृत्यु
कैलालीको लम्कीचुहा नगरपालिका–६ गुलरामा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । शुक्रबार राति करिब १२ बजेतिर लोहारपुर घर भएका २२ वर्षीय मायाराम चौधरी पूर्वपश्चिम राजमार्गको गुलरा सडकखण्डमा से २ प १८५० नंं को मोटरसाइकलसँगै मृतावस्थामा भेटिएका हुन् । 

चुहामा व्यापार गर्दै आएका चौधरी लम्कीबाट घर जाने क्रममा राति गुलरा सडकखण्डमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । 

चौधरीलाई मृतावस्थामा देखेपछि पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको एक बसका चालकले प्रहरीलाई खबर गरेको प्रहरीले जनाएको छ ।

चौधरीको मृत्युपछि उनका आफन्तले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । राति ३ बजेबाट राजमार्ग अवरुद्ध पारेपछि पूर्वबाट पश्चिम र पश्चिमबाट पूर्वतर्फ जाने सयौँ यातायातका साधनबीच बाटोमै अलपत्र परेका छन् ।  शव पनि राजमार्गबाट उठाइएको छैन । मृतकका आफन्तले कुनै गाडीले ठक्कर दिएको हुनसक्ने भन्दै छानबिन र क्षतिपूर्तिको माग गरेका छन् । 

ट्रक र ट्र्याक्टर जुध्दा चालकको मृत्यु 

वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत सुब्बा कुनास्थित ट्रक र ट्र्याक्टर जुध्दा ट्र्याक्टर चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा ट्र्याक्टर चालक वीरेन्द्रनगर नगरपालिका–१२ सुर्खेत निवासी ३४ वर्षीय प्रेम कार्की रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए। 

प्रदेश अस्पतालमा उपचारको क्रममा उनको शुक्रबार बेलुका मृत्यु भएको प्रवक्ता बताए। प्रवक्ता रावलका अनुसार शुक्रबार बिहान सुर्खेत विनपा–११ गङ्गा पेट्रोलपम्प नजिक सुब्बाकुनाबाट बजारतर्फ आउँदै गरेको लु१ख ७६७० नम्बरको ट्रक र विपरीत दिशातर्फ जाँदै गरेको भे१त ७५८९ नम्बरको ट्र्याक्टर एकापसमा ठोक्किएका थिए ।

उक्त घटनामा घाइते भएका ट्र्याक्टर सहचालक जुनीचाँदे गाउँपालिका–२ जाजरकोट निवासी ३२ वर्षीय कृष्णबहादुर शाहीको उपचार भइरहेको र अवस्था चिन्ताजनक रहेको जनाइको छ । ट्रकसहित ट्रक चालक तिलोत्तमा नगरपालिका–१६ रुपन्देही निवासी श्यामप्रसाद थारुलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । 

दुर्घटनामा दुईको मृत्यु
मोटरसाइकल दुर्घटना हुँदा सिन्धुलीमा दुई जनाको मृत्यु भएको छ । बिपी राजमार्गअन्तर्गत यहाँको कमलामाई नगरपालिका–७ माझइीटारमा प्रदेश नं २ को ०२–००१ प २५१० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रञ्जु सिग्देलका अनुसार मोटरसाइकल चालक धनुषा जिल्ला महेन्द्रनगर–२ घर भई हाल छिरेश्वर नगरपालिका–६ निवासी २४ वर्षीय सुनिलकुमार राय राजपुतको र मोटरसाइकल पछाडि सवार सोही ठाउँका २३ वर्षीय कृष्णकुमार गुप्ताको मृत्यु भएको हो ।

दुवैको घटनास्थलमा नै मृत्यु भएको र शव सिन्धुली अस्पतालमा रहेको प्रहरीले बताएको छ । मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । आज बिहान कमलामाई नगरपालिका–७ सुनिता पेट्रोलपम्प नजिक सिन्धुलीबाट भिमानतर्फ जाँदै गरेको अवस्थामा आफैँ अनियन्त्रित भई सडकबाट १५ फिट तल खसेको थियो ।  
 

salt training

कमेन्ट गर्नुहोस्