
निजी क्षेत्रको लगानीमा लमजुङमा निर्माण भएको रुदीखोला–बी जलविद्युत् आयोजनाले शनिवारदेखि विद्युत् उत्पादन शुरू गरेको छ ।
६ दशमलव ६ मेगावाट क्षमताको आयोजनाको विद्युत् गृह लमजुङको क्वहोलाछार गाउँपालिका–५ सिन्दीमा छ । सो आयोजना बिन्दवासिनी हाइड्रो पावर कम्पनीले निर्माण गरेको हो ।
आयोजनाबाट उत्पादित बिजुली मिजुरेडाँडा सवस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । १५ दिनसम्म परीक्षण प्रसारणका रुपमा विद्युत् उत्पादन हुनेछ ।
सो अवधिभर सरकारले बिजुलीको रकम तिर्नुपर्दैन । परीक्षण प्रसारणको अवधि सकिएपछि व्यावसायिक उत्पादन शुरू हुने बिन्दवासिनी हाइड्रो पावर कम्पनीका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए ।
निर्माण शुरू भएको करीब २ वर्षमै उत्पादन शुरू भएको आयोजनामा प्रतिमेगावाट १८ करोड रुपैयाँ खर्च भएको कम्पनीका सचिव जनार्दन अर्यालले बताए । बिन्दवासिनीले निर्माण गरेको ८.८ मेगावाटको रुदीखोला–ए जलविद्युत् आयोजनाले गत वर्षको चैतदेखि व्यावसायिक उत्पादन गर्दै आएको छ । ४८.८ मेगावाटको खिम्ती–२ जलविद्युत् आयोजनामा पनि बिन्दवासिनी समूहले लगानी गरेको छ ।