२३ जेठ २०८३, शनिबार

वीरेन्द्रनगरमा भोलि सवारीसाधन बन्दको आह्वान, चुप नबस्ने प्रशासनको चेतावनी

माघ १८, २०७६
वीरेन्द्रनगरमा भोलि सवारीसाधन बन्दको आह्वान, चुप नबस्ने प्रशासनको चेतावनी

गत मंगलवार टिप्परको ठक्करबाट १ जनाको मृत्यु भएको घटना सेलाउन नपाउँदै फेरि वीरेन्द्रनगर बजार बन्द आह्वान गरिएको छ ।

विहीवार मात्रै टिप्प्पर चालक र पीडित पक्षबीच सहमति भएपछि शुक्रवारबाट वीरेन्द्रनगर खुलेको छ । 

तर शुक्रवार बिहान ८ बजे वीरेन्द्रनगरको पिपिरा चोकमा लु१ख ७६७० नम्बरको ट्रकले भे१त ७५७९ नम्बरको ट्रयाक्टरलाई ठक्कर दिँदा चालक तथा सवारीधनी जाजरकोटको जुनिचाँदे–१ घर भइ वीरेन्द्रनगर–१२ बस्दै आइरहेका प्रेमबहादुर कार्कीको मृत्यु भएको थियो ।

मृतकका आफन्तले ट्रक चालकलाई हदैसम्मको कारबाही तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । पीडित पक्षले मृतकको शव बुझेका छैनन् भने सहमति नहुँदा पोस्टमार्टम समेत हुन सकेको छैन । शव कर्णाली प्रदेश अस्पताल सुर्खेतमा राखिएको छ ।

आन्दोलनअन्तर्गत माघ १९ गते वीरेन्द्रनगरबाट भित्रिने/बाहिरिने तथा बजारभित्र चल्ने सम्पूर्ण सवारीसाधन बन्द गराउने, माघ २० गते वीरेन्द्रनगर भित्रका सम्पूर्ण व्यापार, व्यवसाय, उद्योग, कलकारखाना, सरकारी कार्यालय पूर्णरुपमा बन्द आह्वान गरिएको छ ।

प्रशासनले उचित क्षतिपूर्तिसहित सहमति जुटाउनुको सट्टा शव उठाउन आफन्तलाई एकतर्फी दबाब दिएको आरोप पीडित परिवार संघर्ष समितिका संयोजक कृष्णबहादुर कार्कीले लगाएका छन् । उनले आफ्ना माग पूरा नभएसम्म शव नबुझ्ने बताएका छन् ।

पीडित परिवारले ट्रक चालक र धनीलाई कानून बमोजिम कारबाही, मृतकका बालबालिकाको सम्पूर्ण पठनपाठनको जिम्मेवारी ट्रक चालक र धनीले लिनुपर्ने, मृतकको परिवारलाई बीमाबाहेक थप क्षतिपूर्ति दिनुपर्ने, घाइतेलाई पूर्ण उपचारको व्यवस्था, दुर्घटनामा परेको ट्रयाक्टरको जिम्मा ट्रकधनीले लिनुपर्ने माग गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले भने कालिकोटको जस्तो घटना नभएको बताए । ‘ट्रक तथा ट्रयाक्टर व्यवसायी समितिकै गाडी भएका कारण उनीहरूले नै मिलाउनुपर्थ्यो,’ उनी भन्छन्, ‘हामीले कानूनी कारवाही गर्ने हो । चालकलाई नियन्त्रणमा लिइ प्रक्रिया अगाडि बढाइरहेका छौं ।’

सुर्खेतलाई अशान्त हुन दिने पक्षमा प्रशासन नरहेको उनले बताए । ‘क्षतिपूर्ति बढी माग्ने, सार्वजनिक सम्पतिमाथि आक्रमण गर्ने प्रवृत्ति बढेको छ । हामी चुप लागेर बस्दैनौं,’ उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्