
धादिङको गल्छी गाउँपालिकाले रामपुरमा बन्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई १०० टिप्पर बालुवा उपलब्ध गराइएको छ ।
शनिवार धादिङबाट १०० वटा टिप्परले बालुवा रंगशाला ल्याएका हुन् ।
गल्छी गाउँपालिका–४ का अध्यक्ष राजु अधिकारीले एक टिप्परमा २६५ क्युफिट रहेकोे र प्रति ट्रिप मूल्य ३० हजार रुपैयाँ हाराहारी पर्ने जानकारी दिए । सबै बालुवा ३० लाख रुपैयाँ बराबरको रहेको थियो ।
गाउँपालिकाले बालुवा र धोएको खर्च व्यहोरेको र नेपाल टिप्पर तथा ट्रक व्यवसायी समिति कलंकीले ढुवानीको व्यवस्था गरेको उनले जानकारी दिए ।
भरतपुर महानगरपालिका–१५ रामपुरमा रंगशाला निर्माणाधीन रहेको छ । रंगशालामा ५० करोड रुपैयाँ संकलन गर्ने लक्ष्यका साथ आइतवारदेखि धनधान्याञ्चल महायज्ञसमेत लगाइँदैछ । २ अर्ब ५० करोड रुपैयाँको लगानीमा जनस्तरबाट रंगशाला निर्माण गर्न लागिएको हो । यसको नेतृत्व धुर्मुस–सुन्तली फाउन्डेसनले गरेको छ ।