
टुँडिखेल संरक्षणका लागि पहलकदमी चाल्दै आएको अकुपाई टुँडिखेलले आगामी योजनाहरू सार्वजनिक गरेको छ।
अकुपाई टुँडिखेलले हरेक शनिबार खबरदारी कार्यक्रम गर्दै आएकामा अब सांसदहरुमार्फत् लविङ गर्ने भएको हो।
अकुपाई टुँडिखेलले शनिबार विज्ञप्ति जारी गरेर अब प्रादेशिक (बाग्मती) र संघीय सरकारले नै संरक्षण गर्नुपर्ने माग राखेको हो।
नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले टुँडिखेलको संरक्षण अभियानलाई सार्थक बनाएरै छाड्ने बताए।
अभियानका प्रवक्ता सञ्जय अधिकारीले पूर्ण टुँडिखेल कायम गर्न लगाउने र सो क्षेत्रमा भएको सम्पूर्ण अतिक्रमण तत्काल हटाउनु पर्ने बताए। काठमाडौं महानगरपालिकाको अनुगमन समितिको अनुगमन प्रतिवेदनलाई तत्काल कार्यान्वयन गर्न पनि उनको माग छ।
प्रेस विज्ञप्ति
काठमाडौं,२०७६-१०-१८
प्राकृतिक रूपमा काठमाडौंको फोक्सो (अर्थात् स्वच्छ हावाको श्रोत), भूमिगत जल भण्डारको पुनर्भरणको श्रोत, महाङकाल, दुई माजु, गुरु मापा जस्ता कैयौँ मूर्त अमूर्त सांस्कृतिक सम्पदा भएको स्थल, ऐतिहासिक राजनैतिक परिवर्तनको साक्षीको रूपमा रहेको खुल्ला मञ्च भएको क्षेत्र तथा दैविक प्रकोपको बेला आश्रय केन्द्रको रूपमा रहेको टुँडिखेल दिन प्रतिदिन मासिदैं गएको छ।
सन् १९६७ मा ५२ प्रतिशत सार्वजनिक खुला क्षेत्र भएको टुँडिखेलको भूभाग क्रमशः सन् १९९० मा ३३ प्रतिशत ,सन् २००० मा २५ प्रतिशत र सन् २०१७ सम्म आइपुग्दा १४ प्रतिशतमा खुम्चन पुगेको छ र हाल यसको अतिक्रमण हुने क्रम बढ्दो छ।
झट्ट हेर्दा टुँडिखेल अझै पनि खुल्ला सार्वजनिक क्षेत्र जस्तै देखिन्छ तर सो क्षेत्र खुल्ला सार्वजनिक क्षेत्रबाट बिस्तारै सरकारी जग्गामा परिणत हुँदैछ। सार्वजनिक जग्गा भन्नु र सरकारी जग्गा भन्नु एउटै कुरा होइन सार्वजनिक जग्गाको हकमा सरकार केवल न्यासी मात्र हो र सरकारले सो क्षेत्रको व्यवस्थापन मात्र गर्न सक्छ तर त्यसको मूर्त अमूर्त अस्तित्व माथि असर पार्न सक्दैन।
सार्वजनिक खुल्ला क्षेत्र हामीले हाम्रो पुर्खाबाट जसरी पायौं जे प्रयोजनको लागि पायौं त्यहि अनुरूप अन्तरवंशीय न्याय गरी आउने सन्ततिलाई दिनु पर्ने नै मान्यता र सार्वजनिक न्यासको सिद्धान्त समेत हो। खुल्ला क्षेत्रहरूमा जनताको सहज पहुँच हुनुपर्ने यसको अर्को महत्वपुर्ण पक्ष समेत हो जसलाई सम्मानित सर्वोच्च अदालतले विभिन्न मुद्दामा विस्तृत विवेचन गरेको छ । तर हाल सरकार तथा सो मातहतकै निकायहरूबाट सो सार्वजनिक क्षेत्र अतिक्रमण हुँदै छ जुन दुःखदायी छ ।
सन् २००२ देखि टुँडिखेल वरपर संरक्षणको लागि भन्दै आवास तथा शहरी विकास विभागले फलामे बार लगाए सँगै टुँडिखेल भित्र सामान्य नागरिकको सहज पहुँच हुनबाट रोकियो भने स्थानीय सरकार आएपछि पनि नागरीकको सहज पहुँच हुने वातावरण बन्न सकेन।
स्थानिय सरकार संचालन ऐन २०७४ विद्यमान रहँदा समेत टुँडिखेलमा कुनै पनि कार्यक्रम गर्दा स्थानीय सरकार आएपछि समेत अनुमति नेपाली सेनासँगै माग्नुपर्ने स्थिति हाल समेत कायम छ । हाल सानो टुँडिखेल जनताको खेल मैदानबाट नेपाली सेनाको खेल मैदानमा परिणत भएसँगै टुँडिखेलको एक महत्त्वपूर्ण अंश सानो टुँडिखेल समेत जनताको पहुँचबाट टाढा हुन पुगेको छ ।
यसको साथै भुकम्प गएको यत्रो समय बित्दा समेत भौतिक संरचनाहरूको अवशेष, माटोको थुप्रो, भौतिक निर्माणका सामाग्री, भवन निर्माण गर्नेहरूको वासस्थान तथा कार्यालयले टुँडिखेल अतिक्रमित छ । यसका साथै टुँडिखेलको खुलामञ्च २४ कार्तिक २०७२मा काठमाडौंको पुरानो बसपार्कमा व्यापारिक भ्यू टावरको शिलान्यास गरिए सँगै त्यहाँ स्थित बसपार्कलाई खुलामञ्चमा सारे सँगै त्यहाँका रूखहरू काटिएका छन् र अनधिकृत रूपमा सो क्षेत्र पार्किङ्ग र व्यापारिक प्रयोजनको लागि प्रयोग भइरहेको छ ।
किन अकुपाई टुँडिखेल ?
सरोकारवाला निकायको अकर्मण्यताका कारण देशका खुल्ला ठाउँहरू भटाभट मासिदैं गएको परिपेक्षमा सचेत नागरिकको हिसाबले टुलुटुलु हेरेर बस्न मात्र नसकेपछि साथै संविधानको धारा ४८९घ०ले समेत सार्वजनिक सम्पत्तिको संरक्षण र संवर्धन गर्न दिएको दायित्व अनुरूप काठमाडौंको मध्य भागमा अवस्थित टुँडिखेल बचाउन विश्व स्वतन्त्रता दिवसको अवसरमा कात्तिक २३ गते शनिवार बिहान ८ बजे खुलामञ्चमा मानव साङ्लो बनाइयो। त्यससँगै त्यहाँ उपस्थित जनभावना अनुरूप पहिलो चरणको लागि जनतादेखि जनप्रतिनिधिसम्म टुँडिखेलको महत्व र उपयोगिताको बारेमा बहस चलाउँदै सबैलाई उत्तरदायी बनाउन तथा सो क्षेत्रका अतिक्रमणहरू हटाउन पहिलो चरणमा ३ महिनाको लागि नागरिक अभियान “अकुपाई टुँडिखेल” सुरु गर्यौं ।
तीन महिनामा हामीले के-के गर्यौं ?
स्वतन्त्रता दिवसका दिनबाट अतिक्रमित टुँडिखेललाई मुक्त बनाउने हिसाबले प्रथम चरणमा तीन महिनाका लागि टुँडिखेलमा प्राकृतिक, सांस्कृतिक, सामाजिक, ऐतिहासिक र राजनीतिक महत्व उजागर गर्ने विभिन्न किसिमका क्रियाकलापहरु प्रत्येक शनिबार टुँडिखेल आसपासमा गर्यौं ।सो कार्यक्रमहरू निम्न अनुसार रहेका छन्
पहिलो हप्ताः मानव साङ्लो
दोस्रो हप्ताः खरिको बोट पुर्नस्थापना
तेस्रो हप्ताः साहित्यिक सम्मेलन
चौथो हप्ताः सम्पदाका महत्त्व र त्यसमा देखिएका विकृति प्रतिबिम्बित गर्ने सम्पदा लडाई नामक पुस्तक बारे छलफल
पाचौं हप्ताः खेलकुदको दृष्टिकोणले टुँडिखेलको महत्त्व प्रतिबिम्बित गर्न तेक्वान्डो प्रदर्शनी
छैठौँ हप्ताः खुलामञ्चमा जनताको डोजर लगेर सरसफाईको थालनी
सातौं हप्ताः स्थानियको खुलामञ्चसँगको कथा र स्मृति वाचन
आठौं र नवौं हप्ताः खुलामञ्चमा चित्र निर्माण तथा सरसफाई
दशौं हप्ताः सवारी रहित खुलामञ्च बनाउने सुरुवात स्वरूप का।म।पा वडा नं २८को सहकार्यमा सूचनाहरू टाँसियो
एघारौं हप्ताः “हामी नबिर्सौं ” भन्ने शीर्षक सहित खुल्ला ठाउँ, काठमाडौं, टुँडिखेल, खुलामञ्च लगायतका विषयवस्तु समेटेर फोटो प्रदर्शनी
बाह्रौ हप्ताः वीर अस्पताल र दरबार हाई स्कुलका अधिकारीहरूसँग छलफल
तेहौं हप्ताः पत्रकार सम्मेलन सत्ता नेपाली जनतालाई धन्यवाद दिदैं आगामी सङ्घर्षमा समेत साथ र सहयोगको अपेक्षा गर्दछौं ।