
सप्तरीको बोदे बर्साइनमा एउटा बीओपी (बोर्डर आउट पोस्ट) थपिएको छ।
छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी बल नेपाल २ नम्बर प्रदेशका सशस्त्र प्रहरी नायब महानिरीक्षक राजु अर्याल र बोदे बर्साइन नगर प्रमुख आतेशकुमारसिंह यादवले आइतबार सुरक्षा बेसलाई स्तरोन्नति गरी बीओपी स्थापना गरेका हुन्। जसमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ३५ जना प्रहरी रहने छन् ।
शान्ति सुरक्षा कायम हुने, सीमाको सुरक्षा थप मजबुत हुने, सीमा अपराध नियन्त्रण हुने र अवैध चोरी निकासी रोकिने विश्वासका साथ बीओपी स्थापना गरिएको सशस्त्र प्रहरी नायब महानिरीक्षक अर्यालले बताए।
योसँगै सप्तरी जिल्लामा बीओपीको सङ्ख्या सात पुगेको छ । सरकारले देशभर ११४ वटा बीओपी थप गर्ने निर्णय गरेअनुसार सप्तरीमा तीन वटा बीओपी थप्न लागिएको हो । बोदे बर्साइनपछि बेल्ही र जोगिनियामा बीओपी थपिने सशस्त्र प्रहरीले जानकारी दिएको छ ।
भारतसँगको सिमाना ७८ किलोमिटर रहेको सप्तरीमा तीन वटा नयाँ बीओपी थपिए पछि बीओपीको जिम्मेवारी क्षेत्र औसत दूरी ८.६ किलोमिटर रहनेछ । जनशक्ति थप हुँदै गएमा आवश्यक्ताअनुसार बीओपी थपिँदै जाने अर्यालले बताए।