१० असार २०८३, बुधबार

भतिजी अपहरण गरेर १६ लाख मागेपछि...

माघ २०, २०७६
भतिजी अपहरण गरेर १६ लाख मागेपछि...

‘म ग्रीष्माको बाबा बोलेको, ग्रीष्मालाई सन्‍चो छैन, आज छोरी लिन आउन भ्याउँदिनँ, भाइसँग पठाइदिनुहोला’ आइतबार बिहान करिब ११ बजे मध्यपुर थिमि–५ निकोसेरास्थित ग्लोरी इङलिस बोर्डिङ स्कुलमा फोन आयो । फोनमा भनेअनुसारै ग्रीष्मा राउतलाई लिन १२ बजेर १० मिनेटमा अपरिचित व्यक्ति हेलमेट लगाएरै स्कुल प्रवेश गरे । स्कुलका शिक्षकले ती व्यक्तिलाई हेलमेट खोल्न लगाए । ग्रीष्मालाई शिक्षकले ‘उहाँलाई चिन्छौ नानी ?’ भनेर सोधे । ग्रीष्माले ‘चिन्छु, उहाँ अंकल हो’ भनिन् ।’ ग्रीष्मा सोही स्कुलमा यूकेजीमा अध्ययनरत छिन् । 

त्यसपछि शिक्षकले ग्रीष्मालाई अपरिचतको जिम्मा लगाए । ग्रीष्मालाई लिएर ती अपरिचित व्यक्ति ‘पार्टीमा जानु छ, उतै हिँड’ भनेर एनएस ब्रान्डको बा९६प १६२० नम्बरको मोटरसाइकलमा राखेर लगे । पार्टीमा लैजाने भनेर ग्रीष्मालाई ती अपरिचितले सूर्यविनायकस्थित घ्याम्पेडाँडा जंगलमा पुर्‍याए । ग्रीष्मालाई चकलेट दिएर फकाएका उनले जंगलमा पुर्‍याएपछि मुखमा रुमाल र डोरीले उनको शरीर रुखमा बाँधेर छोडे । त्यसपछि करिब १ बजे ती अपरिचितले ग्रीष्माका बुबा कुबेर राउतलाई फोन गरे । ‘१६ लाख लिएर आउनू, नत्र छोरी ज्युँदो रहँदिन’ भन्दै धम्की दिए । कुबेरले स्कुलमा फोन गरे । छोरी कसको जिम्मा पठाएको भनेर सोधेपछि पो स्कुलका शिक्षकले ग्रीष्मा अपहरणमा परेको बल्ल थाहा पाए ।

अपहरणको करिब २ घण्टापछि मात्रै यो घटनाबारे सूचना प्रहरीमा पुग्यो । त्यहीबीच घ्याम्पेडाँडा घुम्न गएका बिघसिंह कार्की र सुभेच्छा नेपालले जंगलमा बच्चा रोइरहेको आवाज सुने । ख्वप इन्जिनियरिङ कलेजमा स्नातक दोस्रो वर्षका यी दुई विद्यार्थी आइतबार साढे १२ बजे साथीसँगै त्यहाँ घुम्न गएका थिए । ‘एक व्यक्तिले मोटरसाइकलमा बालिकालाईअप्ठ्यारो बाटो लगेको थियो, हामीलाई लाग्यो कुनै आफन्त होला,’ बिघले भने, ‘आधा घण्टापछि बालिका रोएको आवाज सुन्यौं । पछि सोही बालिकाको घाँटीमा टालाले बाँधेको देख्यौं, रूखमा डोरीले बाँधेर मोटरसाइकलवालाले तिम्रो बाबालाई लिएर आउँछु भन्दै भागेको रहेछ ।’ बिघ बालिका रहेका ठाउँमा पुगेर शरीर र घाँटीमा बाँधेको टालो र डोरी फुकाइदिए । सोधखोज गर्दा ग्लोरी इङलिस स्कुलका विद्यार्थी रहेको उनले थाहा पाए । रोइरहेकी ग्रीष्मालाई उनीहरूले करिब २ बजेर ३० मिनेटमा स्कुल पुर्‍याइदिए । संजोग नैभन्नुपर्ला, बिघसिंह पनि त्यही स्कुलका पूर्वविद्यार्थी रहेछन् ।

त्यसपछि प्रहरी विद्यालय पुगेर अनुसन्धान गर्दा अपहरणकारी आशिष थापा रहेको खुल्यो । आशिष र ग्रीष्माका बुबा कुबेर मामा र फुपूका छोरा रहेको खुल्यो । अपहरणमा प्रयोग गरिएको मोटरसाइकल प्रहरीले पत्ता लगाउन सक्ने भन्दै आशिषले सातदोबाटोस्थित साथी आशिष भण्डारीको घरमा पुर्‍याए । भण्डारीको बा९०प ७०० नम्बरको मोटरसाइकलबाट फर्किएका आशिषलाई पछि मध्यपुर थिमि नगरपालिका–४ एसएस चोकबाट प्रहरीले पक्राउ गर्‍यो । उनलाई मोटरसाइकल दिने भण्डारीलाई पनि साँझ नियन्त्रण लिएको छ । महानगरीय प्रहरी वृत्त थिमीका डीएसपी शान्तिराज कोइरालाले अपहरणकारी सर्लाही लालबन्दी नगरपालिका–५ घर भई मध्यपुर थिमि–६ बस्ने २० वर्षीय आशिष थापा रहेको बताए ।

प्रहरीले अपहरणकारी पक्राउ गर्न सीसीटीभी फुटेजका आधारमा सादा पोसाकका सुरक्षाकर्मी परिचालन गरेको थियो । फिरौती मागेपछि कुबेर १६ लाख रुपैयाँ र प्रहरीलाई साथमा लिएर गएका थिए । त्यही क्रममा आशिष एसएसचोकबाट साँझ ५ बजेर २० मिनेटमा पक्राउ परेका हुन् ।

स्कुलका प्रिन्सिपल शंकरकर्ण कायस्थले अपरिचितले बालिका अपहरण गर्न पहिले नै योजना बनाएको र बालिकाले पनि चिन्छु भनेर मात्रै आफूहरूले दिएको बताए । ‘ग्रीष्माका बुबाको नाटक गरेर अपहरणकारी आएका रहेछन्, ग्रीष्माले पनि अपहरणकारीलाई चिन्छु भनेपछि समस्या भयो,’ उनले भने । कुबेरले प्रहरीसँग भने, ‘ऊ मेरो मामाको छोरो, म फुपूको छोरो, ग्रीष्मा अपहरणकारीकी भतिजी पर्छिन्, खै किन अपहरण गरेको हो, केही थाहा छैन ।’ कान्तिपुर दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्