१५ असार २०८३, सोमबार

यी हुन् गर्भाधान रोक्ने उपाय

माघ २०, २०७६
यी हुन् गर्भाधान रोक्ने उपाय

नेपाल स्वास्थ्य तथा जनसांख्यिक सर्वेक्षणको पछिल्लो तथ्यांकअनुसार शिक्षित वर्गले परिवार नियोजनका साधन कम प्रयोग गर्न थालेका छन् । सर्वेक्षणअनुसार नेपालमा १५ देखि ४९ वर्षका विवाहित महिलामध्ये ५३ प्रतिशतले मात्र परिवार नियोजनको कुनै न कुनै विधि प्रयोग गरेको पाइएको छ । जसमध्ये ४३ प्रतिशतले आधुनिक साधन र १० प्रतिशतले परम्परागत विधि (वीर्य बाहिर झार्ने) प्रयोग गरिरहेका छन् । 

नेपाली समाजमा शिक्षित दम्पतीमा नै परिवार नियोजनका साधनको प्रयोगबारे भ्रम रहेको पाइन्छ । अधिकांशमा गर्भ रोक्छ कि रोक्दैन, यौन प्रसारित संक्रमण रोक्छ वा रोक्दैन अथवा साइड इफेक्ट हुन्छ कि भन्ने डर रहेको देखिन्छ । परिवार नियोजनका साधन वा विधिका आ–आफ्नै फाइदा–बेफाइदा छन् । त्यसैले स्वास्थ्यकर्मीसँग परामर्श गरेर आफूलाई उपयुक्त हुने विधि प्रयोगमा ल्याउन सकिन्छ । 

कन्डम 
कन्डम परिवार नियोजनको विश्वसनीय अस्थायी साधन हो । जसलाई प्रत्येकपटक यौनसम्बन्ध राख्दा प्रयोग गरिन्छ । प्रायः यो साधन पुरुषले प्रयोग गर्छन्, तर हिजोआज बजारमा महिला कन्डम पनि उपलब्ध हुन्छन् । कन्डमको प्रयोगले गर्भ रोक्छ र यौनरोगको संक्रमणबाट पनि बचाँउछ । 

गर्भनिरोधक चक्की 
सामान्यतया निलोकन ह्वाइट चक्की धेरै प्रयोगमा आउने गर्धनिरोधक चक्की हो, यसमा एस्ट्रोजोन र प्रोजेस्टोन गरी दुईवटा हर्मोन हुन्छन् । महिनावारी भएको दोस्रो दिनदेखि पाँचौँ दिनभित्र प्रयोग सुरु गरेर २१ दिनसम्म नियमित लिनुपर्छ । ६ महिनाभन्दा कम उमेरका बच्चालाई दूध चुसाइरहेका आमाले यो चक्की प्रयोग गर्नुहुँदैन । हार्मोनल चक्कीको नियमित प्रयोगले दूध सुकाउँछ । त्यसैले, यस्ता महिलाले प्रोजेस्ट्रोन हर्मोन मात्र भएको गर्भनिरोधक प्रयोग गर्नुपर्छ । 

इम्प्लान्ट
इम्प्लान्ट पनि हर्मोनल गर्भनिरोधक हो । यसमा प्रोजेस्ट्ररोन हर्मोन प्रयोग गरिएको हुन्छ । विशेष तालिमप्राप्त स्वास्थ्यकर्मीको सहायताबाट यसलाई पाखुरामा राखिन्छ । यसको अवधि पाँच वर्षको हुन्छ । तर, चाहेको समयमा निकाल्न सकिन्छ । इम्प्लान्टले लामो समयसम्म गर्भ रहनबाट रोक्छ । इम्प्लान्टको प्रयोग गर्दा दिनहुँ चक्की खाइरहनुपर्ने झन्झट हुँदैन । 

संगिनी सुई
संगिनी सुईको अवधि तीन महिना हुने भएकाले यसलाई तीनमहिने सुई पनि भनिन्छ । तर, तीन महिना पुगेको करिब दुई हप्तासम्म पनि गर्भ रहने सम्भावना हुँदैन । कतिपयमा तीनमहिने सुईको प्रयोगले महिनावारीमा रगत कम पर्ने वा महिनावारी नै बन्द हुने हुन्छ । हर्मोनका कारण हुने परिवर्तनले यस्तो हुने हुँदा महिनावारी बन्द भए पनि स्वास्थ्यमा कुनै प्रतिकूल असर हुँदैन । तर, कतिपय अवस्थामा सुईले काम नगरेर गर्भ रहने सम्भावना हुन सक्छ, तसर्थ महिनावारी रोकिएमा स्वास्थ्य परीक्षण गराउनु आवश्यक हुन्छ । 
आइयुडी
आइयुडीलाई कपर टी पनि भनिन्छ । लामो समयसम्म गर्भाधान गर्न नचाहनेका लागि यो उपयुक्त अस्थायी साधन हो । यसको अवधि ५ देखि १२ वर्षसम्म हुन्छ । महिनावारी भएको एक हप्ताभित्र महिलाको पाठेघरमा कपर टी राखिन्छ । यो अंग्रजी अक्षर ‘टी’ आकारको हुन्छ । तीनवटा टुप्पोमा तामाको मसिनो तारले बेरिएको हुन्छ । यसको तल्लो टुप्पोमा सेतो मसिनो धागो हुन्छ, जुन पाठेघरको बाहिरसम्मै आएको हुन्छ । प्रत्येकपटक महिनावारी हुँदा उक्त धागो योनीमा भए÷नभएको जाँच गर्नुपर्ने हुन्छ । यदि नभएमा चिकित्सकको सल्लाह लिनुपर्छ । पाठेघरभित्रै राखिने हुँदा पेट दुख्ने, महिनावारीको समयमा रगत धेरै बग्ने र कपर टी निकालेको करिब १ महिनासम्म गर्भ नरहने हुन्छ । 

प्राकृतिक विधि 
नियमित स्तनपानले पनि गर्भ रहनबाट रोक्न सक्छ । पहिलो ६ महिनासम्म शिशुले नियमित पूर्ण रूपमा स्तनपान गरिरहेको छ भने गर्भ रहने सम्भावना कम हुन्छ । तर, बच्चाले अन्य खानेकुरा नखाई दूध मात्रै खाइरहेको हुनुपर्छ । यसलाई गर्भ निरोधकको प्राकृतिक विधि मानिन्छ । अधिकांशले प्रयोगमा ल्याउने अर्को विधि क्यालेन्डर मेथड हो । गर्भ रहने सम्भावना कम भएको दिनमा गरिने यौन सम्बन्धबाट पनि गर्भाधानको सम्भावना कम हुन्छ ।  अर्थात्, नियमित एउटै समयमा महिनावारी हुनेले पहिलो नौ दिन र पछाडिको सात दिन यौन सम्बन्ध राख्दा पनि गर्भ रहने सम्भावना न्यून हुन्छ । नयाँ पत्रिकामा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्