
बेलायतको साउथ लन्डनस्थित स्ट्रीटह्याममा जथाभावी चक्कु आक्रमण गरेर तीनजनालाई घाइते बनाउने आतंकवादी सुदेश अम्मानलाई दुई हप्ताअघि मात्र कारागारबाट मुक्त गरिएको पाइएको छ ।
आइतवार ती आतंकवादीले स्ट्रीह्याममा मानिसहरूमाथि चक्कु आक्रमण गरेका थिए । आक्रमणमा परेकाहरू घाइते भएको तर उनीहरूको स्थिति गम्भीर नरहेको बताइएको छ ।
प्रहरी अधिकारीहरूले अम्मानलाई दिउँसो २ बजे गोली हानेर मारेका थिए ।
अम्मानले सन् २०१८ को डिसेम्बर महिनामा आतंकवादी दस्तावेजहरू बोकेको र वितरण गरेको आरोपमा दोष स्वीकार गरेका थिए । उनले त्यसपछि तीन वर्ष र चार महिनाको कारागार सजाय काटेका थिए ।
जेलमा रहँदा पनि उनले आतंकवादी विचारधारा राखिरहने गरेको भनी चेतावनी दिइएको भए पनि उनलाई एक हप्ताअघि कारागारमुक्त गरिएको थियो ।
हेनरी ज्याकसन सोसायटी नामक थिंकट्यांक संस्थाले गत डिसेम्बर महिनामा अम्मान अतिवादी भएको र उनलाई कारागारमुक्त गर्नु जोखिमपूर्ण रहेको बताएको थियो ।
थुनामुक्त गरिएका आतंकवादीहरूको नयाँ लहरमा अम्मान पनि रहेको भनी उक्त संस्थाले जनाएको थियो ।
अम्मानले जोखिमका अनेकौं सूचकांकहरू अनुरूपको व्यवहार देखाएको उक्त संस्थाका सञ्चारप्रमुख साम आर्मस्ट्रोङले बताए । सजाय पाएकोमा पश्चात्ताप नहुनु, दस्तावेजहरूलाई गोप्यताका साथ राख्नु, कम उमेरको हुनु र आईएस जस्तो अतिवादी समूहको सदस्य हुनु लगायतले अम्मान जोखिमपूर्ण व्यक्ति भएको देखाएको उनको भनाइ छ ।
तर सरकारले अम्मानलाई कारागारमुक्त गरेर जोखिमलाई गम्भीरतापूर्वक नलिएको देखायो । त्यसको परिणामस्वरूप अम्मानले तीनजनालाई चक्कु आक्रमण गरे ।