०६ असार २०८३, शनिबार

वीरगञ्ज महानगरपालिकाले प्रशासकीय अधिकृतलाई हाजिर गर्न दिएन

जेठ ६, २०८३
पर्सा
वीरगञ्ज महानगरपालिकाले प्रशासकीय अधिकृतलाई हाजिर गर्न दिएन

 सङ्घीय सरकारले खटाएको प्रमुख प्रशासकीय अधिकृतलाई वीरगञ्ज महानगरपालिकाले हाजिर गर्नबाट अवरोध गर्दै आएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ फागुन १२ गतेको निर्णयानुसार वीरगञ्ज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा रेशमलाल कँडेललाई सरुवा गरिएको थियो । तर, वीरगञ्ज महानगरले प्रमुख प्रशासकीय अधिकृत कँडेललाई हाजिर गर्ने वातावरण भने तयार पारेको छैन ।

विगत १० दिनदेखि प्रमुख प्रशासकीय अधिकृत कँडेल वीरगञ्जमै छन् । तर उनलाई महानगरपालिकाले हाजिर गर्न भने दिएको छैन । 

वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले सङ्घीय सरकारले गत फागुन १२ गते प्रमुख प्रशासकीय अधिकृत कँडेलको सरुवा गरेको भए पनि उनले वीरगञ्ज आउन ढिलाइ गरेको आरोप लगाए ।

“उहाँ सरुवा हुनेबित्तिकै आउन चाहनुभएन”, महानगर प्रमुख सिंहले भने, “अहिले उहाँ मन्त्रालयले ताकेता गरेपछि मात्रै आउन खोज्नुभएकाले पनि हाजिरी गराउन नखोजेका हौँ । हामीलाई उहाँभन्दा नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाइदिएमा राम्रो हुने थियो भन्दै आएका छौँ ।”

प्रमुख प्रशासकीय अधिकृत कँडेलले भने आफू वीरगञ्जमै भए पनि महानगरको कार्यालयमा गएर हाजिरी गर्ने वातावरण नभएको जानकारी दिए । 

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता एकदेव अधिकारीले अहिलेको सरकारले भन्दा पनि यसअघिको सरकारले प्रमुख प्रशासकीय अधिकृतलाई सरुवा गरेकाले हाजिर गराउने विषयमा वीरगञ्ज महानगरसँग समन्वय गरिरहेको बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्