१३ असार २०८३, शनिबार

'ओली राष्ट्रवाद’ : सुष्मालाई सोल्टीमा रात्रिभोज र भारतको ‘रेड कार्पेट’

माघ १९, २०७४
'ओली राष्ट्रवाद’ : सुष्मालाई सोल्टीमा रात्रिभोज र भारतको ‘रेड कार्पेट’

अघिल्लो पटक केपी ओली प्रधानमन्त्री बन्दै गर्दा छिमेकी मुलुक भारतको उपहार नाकाबन्दी थियो । भारतले जे सुकै सोचेर दिएको भए पनि ओलीलका लागि त्यो उपहार नै सावित भयो ।

ओलीले उत्तरतिरको केरुङ नाकाबाट पेट्रोलियम पदार्थ बोकेका केही ट्याङ्कर काठमाडौं भित्र्याए, अनि ‘असली राष्ट्रवादी’ बन्न पुगे ।

त्यतिबेला एमाले अध्यक्ष ओलीको राष्ट्रवादीले निकै उचाइ चुम्यो । जसको प्रत्यक्ष लाभ एमालेलाई स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पुग्यो । त्यसको जस ओलीले नै लिए । ५ दशकभन्दा लामो राजनीतिक जीवन व्यतित् गरेका ओलीका लागि यो एउटा सुखद् पक्ष रह्यो ।

ओलीको राष्ट्रवादी छविको प्रशंसा एमालेभित्र मात्र नभई बाहिर पनि भयो । ओलीको राष्ट्रवादी छविले उचाइ चुम्दै गर्दा नेपाली सेनाका सेवानिवृत्त एक जर्नेलले पंक्तिकारसँग भनेका थिए, ‘राजनीतिक विचारधाराका हिसाबले एमाले अध्यक्ष ओलीसंग मेरो कुनै निकटता छैन, तर ओलीको राष्ट्रवादी छविको  प्रसंशा नगरी बस्न सक्दिन । तपाईं लेखेर राख्नुहोस् ओलीको यो राष्ट्रवादी छविकै कारण एमालेले निकट भविष्यमा हुने स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा राम्रो नतिजा ल्याउने निश्चित छ ।

उनले गरेको अनुमान कालान्तरमा सही सावित भयो । चुनावी परिणाम आइसकेपछि तिनै जर्नेलले ओलीको राष्ट्रवादी छविलाई शंकाको दृष्टिले हेरेका थिए । उनको शंका पनि अहिले सही सावित हुँदै गरेको देखिन्छ ।

पछिल्लो राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालेर र्हेने हो भने एमाले अध्यक्ष ओली वाम गठबन्धनको नेतृत्व गर्दै भावी सरकारको नेतृत्वको तयारीमा जुटिरहेका छन् । सम्भवतः फागुन दोस्रो साताभित्र ओलीले दोस्रो पटक सत्तारोहण गर्नेछन् । जनमत अनुसार यो स्वभाविक पनि हो ।

तर ओली दोस्रोपटक प्रधानमन्त्री बन्दै गर्दा विगतमा जस्तो नाकाबन्दीको सामना गर्नुपर्ने छैन । यो एमाले अध्यक्ष ओली र वाम गठबन्धनका लागि अत्यन्त सुखद् पक्ष हो । बरु यसपटक एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री बन्नुअगाडि नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट शुभकामनासहित भ्रमणको निम्तो पाइसकेको अवस्था छ ।

त्यतिमात्र होइन ओलीको नेतृत्वमा निर्माण हुने वाम गठबन्धनको सरकारलाई वधाई दिनका लागि भारतीय विदेशमन्त्री सुष्मा स्वराज दूतका रुपमा काठमाडौं आई एमाले अध्यक्ष ओलीलाई बधाई दिँदै दिल्ली भ्रमणका लागि रेड कार्पेट बिच्छ्याएको अवस्था छ ।

ओलीको पहिलोपटकको सत्तारोहणदेखि अहिलेसम्म नेपालका हिमनदीबाथ शुरु भएर भारतस्थित नदीमा थुप्रै पानी बगिसकेको छ । यस्तो अवस्थामा तत्कालीन ओली नेतृत्वको सरकार त्यसमा पनि एमाले पार्टीसंग छिमेकी मुलुक भारतको सम्बन्धमा सुधार आउनु कुनै नौलो विषय होइन । तर एमाले अध्यक्ष ओलीको नेतृत्वमा वाम गठबन्धनको सरकार गठन प्रकिया अगाडि बढ्दै गर्दा छिमेकी मुलुक भारतले विदेशीमन्त्री स्वराजलाई काठमाडौं पठाएको विषय भने निकै गम्भीर छ ।

त्यतिमात्र होइन एमालेले भारतीय विदेशमन्त्री स्वराजको सम्मानमा सोल्टी होटलमा दिएको रात्रिभोजले एमाले र ओलीको राष्ट्रवादी छविको भित्री पाटो छर्लङ्ग भएको छ । जुन छविलाई ढाक्ने काम गरेका छन्, वाम गठबन्धनका नाममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उनको पार्टीले समेत । एमाले अध्यक्ष ओलीको यो राष्ट्रवादी छवि कतिञ्जेल ढाकिन्छ, त्यो त समयले नै बताउनेछ ।

विगतलाई एकपटक फर्केर हेर्ने हो भने एमाले पार्टी त्यसमा पनि अध्यक्ष ओलीको नजरमा छिमेकी मुलुक भारतले ठाडो हस्तक्षेप गरेको थियो ।

ओलीलाई लाग्थ्यो, भारतीय हस्तक्षेपविरुद्ध प्रतिकार एमालेबाहेक अन्य कुनै राजनीतिक दलले गरेन । तर, आज आफ्नो नेतृत्वको सरकार गठन हुँदै गर्दा एमाले अध्यक्ष ओलीले बालकोट निवासबाट स्वराज आफ्नै निम्तोमा काठमाडौं आएकी भनेर गर्व साथ भनिरहेका छन् । त्यतिमात्र होइन एमाले अध्यक्ष ओलीले स्वराजको सम्मानमा सोल्टी होटलमा रात्रिभोज आयोजना गरेको अवस्थासमेत छ ।

नेपाल भारतबीचको सम्बन्ध सदियौं पुरानो छ । जुन सम्बन्धको कुनै लेखाजोखा नै छैन । यति हुँदाहुँदै पनि नेपाल र भारतबीच जुन हिसाबले सम्बन्ध प्रगाढ हुनु पर्ने हो, त्यो भने हुन सकिरहेको छैन । त्यसको एउटै कारण हो भारतले नेपालप्रति गर्ने व्यवहार ।

जुन व्यवहारका कारण नेपाल र भारत छिमेकी मुलुक भएपनि उनीहरु बीचको सम्बन्ध प्रगाढ हुन सकिरहेको छैन । खासगरी सन् १९५० को असमान सन्धी, सीमा विवाद, जलस्रोतमा भारतको गिद्धे दृष्टि, मधेसी दलहरुलाई उक्साउने प्रवृत्ति, असमान व्यापार सन्धीलगायतका थुप्रै कारणहरु छन् ।

यदि एमाले अध्यक्ष ओली साँच्चिनै राष्ट्रवादी नेता हुन् भने प्रधानमन्त्रीमा निर्वाचिन भएलगत्तै भारतसंग यी विषयमा ठाडो शीर गरेर बोल्ने साहस गर्नुपर्छ । उनको साहस कत्तिको देखिन्छ, त्यो समयले नै बताउला ।

salt training

कमेन्ट गर्नुहोस्