
जनकपुरधाम – तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) गठन भइसकेको महिनौं बितिसक्दा पनि २ नम्बर प्रदेशमा नेकपा पार्टीको अस्तित्व हालसम्म कायम हुन सकेको छैन ।
सभामुख सरोजकुमार यादवका अनुसार प्रदेश सभामा तत्कालीन पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्र नामक अलगअलग राजनीतिक दलकै मान्यता अनुसार दलको पहिचान कायमै रहेको छ । ‘माथि उहाँहरूको पार्टी एकता भएको भएपनि प्रदेश सभामा उहाँहरूले पार्टी एकताको औपचारिक पत्र हालसम्म नदिनुभएकाले पहिलेकै पार्टीको पहिचान हाल पनि कायमै रहेको छ,’ सभामुख यादवले भने ।
अहिले पनि नेकपा एमाले र नेकपा माओवादीकै दलको सांसद, सचेतक र संसदीय दलको नेताको रूपमा ती दुवै पार्टीको पहिचान कायम रहेको छ । अहिले पनि प्रदेश सभामा प्रमुख प्रतिपक्षी नेताको रूपमा नेकपा एमालेका संसदीय दलका नेता सत्यनारायण मण्डललाई मान्यता प्रदान गरिएको प्रदेशसभा सचिवालयका उपसचिव रंजितकुमार यादबले बताए ।
दोहोरो सुविधा लिँदै
पार्टी एकता भएपनि प्रदेश सभामा एकीकरणबारे जानकारी नगराउँदा दुवै दलका नेता तथा पदाधिकारीले दोहोरो सेवासुविधा प्राप्त गरिरहेका छन् । सभामुख यादवका अनुसार प्राप्त हुने सबै सेवा सुविधाहरू छुट्टाछुट्टै प्राप्त गरिरहेका छन् ।
नेकपा एमालेको संसदीय दलको नेताको रूपमा सत्यनारायण मण्डल र प्रमुख सचेतकको रूपमा सुन्दरबहादुर विश्वकर्मा रहेका छन् भने माओवादी केन्द्रको संसदीय दलको नेताको रूपमा रामचन्द्र मण्डल र प्रमुख सचेतकको रूपमा दिलिप साह रहेका छन् ।
सबै राजनीतिक दलका संसदीय दलका नेतालाई प्रदेश सभाले २०७५ बैशाख २७ गते नै दलको प्रदेश तथा केन्द्रीय कार्यालयको विवरण, दलको विधानको १ प्रति, नियमावलीको १ प्रति, दलको संसदीय दलको छुट्टै विधान, दलको नेता निर्वाचन गरेको निर्णयको प्रतिलिपि लगायतका कागजात उपलब्ध गराइदिन भन्दै लिखित रूपमै पत्राचार गरेको भएपनि हालसम्म कुनै पनि दलले त्यसको जवाफ पठाएको छैन ।
‘सबै राजनीतिक दलका संसदीय दलका नेतालाई ती विवरण सहितको कागजात उपलब्ध गराइदिन भनेर गरिएको पत्राचारको जवाफ हालसम्म आउन सकेको छैन,’ प्रदेशसभा सचिवालयका उपसचिव रंजित यादवले बताए ।
राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा २४ र २५ र प्रदेशसभा सञ्चालन अन्तरिम कार्यविधि २०७४ को दफा २८ बमोजिम ती विवरण मागिएको उनले बताए ।
पारिश्रमिक तथा सेवा सुविधा
दलको नेता, सत्तापक्षको प्रमुख सचेतक, विपक्षी दलको मुख्य सचेतक र समितिका सभापतिले मासिक ५६ हजार ४ सय ९० रुपैयाँ पारिश्रमिक, बैठक भत्ता प्रतिदिन १ हजार रुपैयाँ पाइरहेका छन् । सञ्चार सुविधाबापत प्रतिमहिना ३ हजार ३ सय रुपैयाँ, आवास सुविधाबापत १८ हजार रुपैयाँ प्रतिमहिना, ५ वर्षको लागि फर्निचरबापत एकमुष्ठ ७० हजार रुपैयाँ, निजी सचिवालय बन्दोवस्तबापत २ हजार २ सय रुपैयाँ प्रतिमहिना, सवारी इन्धनबापत २ सय २५ लिटर इन्धन प्रतिमहिना पाइरहेका छन् ।
त्यसैगरी, विजुली धाराबापत प्रतिमहिना २ हजार रुपैयाँ, स्वदेशमा दैनिक भ्रमण भत्ताबापत २ हजार ५ सय रुपैयाँ, विदेशमा भ्रमण गर्दा २ सय २५ अमेरिकी डलर प्रतिदिन सुविधा पाइरहेका छन् ।
दलको नेता, सत्तापक्षको प्रमुख सचेतक, विपक्षी दलको मुख्य सचेतक र समितिका सभापतिले ४ जना आफ्नो निजी सचिवालय राख्न पाएका छन् । जसमा द्वितीय श्रेणीका १ जना स्वकीय अधिकृत, १ जना कम्प्यूटर अपरेटर, प्रथम स्तरका १ जना कार्यालय सहयोगी, सवारी चालक १ जनाको सुविधा पाइरहेका छन् । अतिथि सत्कारबापत १० हजार रुपैयाँ प्रतिमहिना पाइरहेका छन् ।
प्रमुख सचेतक र सचेतकको सेवा सुविधा
दलका प्रमुख सचेतक र सचेतकले मासिक ५३ हजार रुपैयाँ पारिश्रमिक, बैठक भत्ता प्रतिदिन १ हजार रुपैयाँ पाइरहेका छन् । सञ्चार सुविधाबापत मासिक ३ हजार २ सय रुपैयाँ, आवास सुविधाबापत १६ हजार, ५ बर्षको लागि फर्निचरबापत एकमुष्ठ ६० हजार रुपैयाँ, निजी सचिवालय बन्दोवस्तबापत २ हजार रुपैयाँ, सवारी इन्धनबापत २ सय लिटर इन्धन पाइरहेका छन् ।
विजुली धाराबापत प्रतिमहिना २ हजार रुपैयाँ, स्वदेशमा दैनिक भ्रमण भत्ताबापत २ हजार ५ सय रुपैयाँ प्रतिमहिना, विदेशमा भ्रमण गर्दा २ सय २५ अमेरिकी डलर प्रतिदिन सुविधा पाइरहेका छन् ।
दलका प्रमुख सचेतक र सचेतकले ३ जना आफ्नो निजी सचिवालय समेतको सुविधा पाइरहेका छन् । जसमा तृतीय श्रेणीका १–१ जना स्वकीय अधिकृत, प्रथम स्तरका १ जना कार्यालय सहयोगी, सवारी चालक १ जना, अतिथि सत्कारबापत १० हजार रुपैयाँ प्रतिमहिना पाइरहेका छन् ।