०८ असार २०८३, सोमबार

पशुपति शर्माको देवत्व र दानवीकरण : हनुमानगिरी र अरिंगालगिरीको भुमरीमा समाज !

फागुन ७, २०७५
पशुपति शर्माको देवत्व र दानवीकरण : हनुमानगिरी र अरिंगालगिरीको भुमरीमा समाज !

हामी नेपालीहरू चाहिने कुरामा कम, नचाहिने कुरामा बढी चासो राख्छौं । भद्रकालीको सडकमा भएको दुर्घटनालाई नदेखे जस्तो गरी माइतीघर पुगेर नाराजुलुस र नाचगान मज्जैले  हेर्छौं । के यो हाम्रो समाज वा राजनीतिको प्रभाव हो ?

हाम्रो बजार राम्रा कुराले भन्दा काण्डहरूले बढी तात्ने गर्छ । उदाहरणका लागि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको शुभारम्भले प्रमुखता पाएन, तर पोलमा राखिएका विज्ञापनहरू भाइरल भए (यद्यपि म पोलवाला विज्ञापनको समर्थक होइन ।)

हामी हल्ला, काण्ड , मिथ्या समाचार र हावा भाषणका पछाडि कुद्छौं । यस्तो निरर्थक कुदाइले कस्तो परिवर्तन होला ?

सत्ताधारीले हावा गफ हान्छ, ताली परर ..... । विपक्षीले झन हावा गफ हान्छ, ताली झन परर ..... । अझ वैकल्पिक हुँ भन्नेले त झन यति हावा हान्दिन्छ कि माइतीघरमा ट्राफिक जामको ट्याँट्याँ भन्दा तालीको गडगडाहट ठूलो हुन्छ । हैट! सम्झिँदा नै उदेक लाग्दो छ । यसरी हावाको पछाडि हामी कहिलेसम्म लाग्ने ?

धोखाधडीको राजनीति हाम्रा पार्टी र तिनका नेताहरूको संस्कृती बन्यो अनि घट्ना वा काण्डका पछि दौडिने हाम्रो बानी । यस्तै घट्नाहरू र काण्डको ताँतीमा अहिले पशुपति शर्माको गीत काण्ड आइपुगेछ । जति सामान्य विषय थियो, त्यति ठूलो हल्ला भयो शायद अरू एजेन्डा नै छैनन् । तर यो घटनाले राम्रो कुराको संकेत चाहिँ गर्दैन । 

पशुपति त हाम्रो संगीत उद्योगका एक सफल प्रतिभा हुन् । राष्ट्रका गहना हुन्, अनि चुनावमा आफ्नो मताधिकार प्रयोग गर्ने एक नागरिक पनि ।

हामी हल्का विषयमा कति धेरै अतिरञ्जित  हुन्छौं भन्ने यो एउटा उदाहरण हो । पशुपति शर्मा एक गायक हुन् । उनलाई गाउने छूट छ, गाए । युट्युबमा गीत हाले । मनपर्नेले तारिफ गरे, नपर्नेले विरोध गरे, यो एउटा सामान्य प्रक्रिया भयो । बरु शब्द चयनमा चिप्लिएका उनले गीत हटाएर आफ्नो कमजोरी स्वीकारे, अनि सम्पादित गीत फेरि हाल्ने कुरा गरेर यो विवाद सुल्झाउने राम्रो कोशिश गरे । तर अतिरञ्जनामा रमाउनेहरूलाई यो भूइँचालो जस्तो बनिदियो ।

कसैले पशुपति शर्माको देवत्वकरण गरिरहेकाछन्, त कसैले दानवीकरण । न पशुपति शर्मा देवता हुन्, नत दानव नै । खास दानव त तिनीहरू हुन्, जसले उनलाई देवता वा दानव जसरी हेर्छन् । उनी हाम्रो संगीत उद्योगका एक सफल प्रतिभा हुन् । राष्ट्रका गहना हुन्, अनि चुनावमा आफ्नो मताधिकार प्रयोग गर्ने एक नागरिक पनि ।

एउटा प्रतिभाको हिसाबले उनले देशको अवस्थालाई गीतमा उतारे, त्यो उत्कृष्ट छ । तर उनले प्रयोग गरेका केही शब्द एउटा राष्ट्रिय गहनाको गायकीमा ठ्याक्कै सुहाउने खाले छैन, त्यो उनी आफैंले स्वीकारी सके ।

उनी एउटा मतदाता र स्वतन्त्र नागरिक भएकाले राजनीतिक झुकाव राख्नु उनको अधिकार हो । उनको राजनैतिक झुकावमाथि प्रहार गर्नु राम्रो मान्न सकिँदैन । अर्को कुरा यसमाथि उफ्रीउफ्री बहस गर्नुपर्ने खास कारण नभए पनि यसमा संलग्न तीन कुरामाथि चाहिँ छलफल गर्नुपर्ने देखिन्छ ।

१. पशुपति शर्मा र गीत

एउटा गायक गाउन, राजनीति गर्न, संगठित हुन, आफ्नो मताधिकार प्रयोग गर्न स्वतन्त्र हुन्छ । संविधानले दिएको स्वतन्त्रतालाई उनले प्रयोग गरेका छन्, त्यो कुरामाथि कसैले प्रश्न उठाउँछ भने त्यो मुर्खता मात्र हो । बरु उनले प्रयोग गरेका केही शब्द र भिडियोमा प्रयोग भयो भनिएका दृश्यहरू पक्कै सर्वस्वीकार्य छैनन् नै । कुनै पक्षलक्षित भएर भन्दा स्वतन्त्र भएर गाएको भए उनी हिरो नै हुने थिए, तर सबै पक्षलाई समेट्न नसक्नु उनको गल्ती हो । बरु गाइजात्रको समयलाई छनोट गरेको भए पनि यति धेरै विवाद हुने थिएन होला ।

अनि अर्को कुरा राष्ट्रियताको हिसाबले हेर्दा गीत अलिक नकारात्मक र निराशावादी भयो कि भन्ने तर्कलाई पनि नजरअन्दाज गर्न मिल्दैन ।  शायद यसको भित्री मर्म, समयको छनोट र लक्षित शब्दहरूको छनोटबारे गायकलाई नै ज्यादा जानकारी होला, तर शब्दहरूमा उनी अलिक चिप्लिएको कुरा प्रष्ट छ र शायद यही चिप्लाइकै कारण उनले गीत हटाएर नयाँ गीत अपलोड गर्ने सोचेका होलान् ।

उनको कदमपछि उक्त गीतमाथिको बहस बन्द हुनुपर्नेमा झन बजार तताउने काम हुनु राम्रो कुरा होइन ।  

२. पशुपति शर्माको विरोध

पशुपति शर्माको विरोध दुई तबरले भएको देख्न सकिन्छ, एउटा सन्तुलित र अर्को असन्तुलित । असन्तुलित विरोध गर्नेमा नेकपा कार्यकर्ताहरू, त्यसमा पनि सत्ता समर्थकहरू बढी छन्, जसलाई अरिंगाल प्रजाति भन्न सकिन्छ । सन्तुलित विरोध गर्नेहरूचाहिँ ननअरिंगाल प्रजातिका छन् ।

असन्तुलित विरोध गर्नेमा नेकपा कार्यकर्ताहरू, त्यसमा पनि सत्ता समर्थकहरू बढी छन्, जसलाई अरिंगाल प्रजाति भन्न सकिन्छ । सन्तुलित विरोध गर्नेहरूचाहिँ ननअरिंगाल प्रजातिका छन् ।

अरिंगाल प्रजातिमा सरकारलक्षित कुनै प्रहार वा आलोचना देख्न, सुन्न र मनन गर्न सक्ने क्षमता छैन जस्तो देखिन्छ, त्यो पनि राम्रो संकेत होइन । यस्ले अन्ततः द्वन्दलाई बढावा दिन्छ । यसरी गालीगलौजमै उत्रिएर चार हातमाथि उर्फनुपर्ने खालको केही कुरा पनि गीतमा देखिँदैन ।

यसरी एउटा गायकमाथि खनिनुभन्दा बरु सरकारलाई राम्रो कामका लागि सहयोग र सुझाव दिनु बुद्धिमानी हुन्छ, किनकि पशुपति शर्मा त गीतका केही शब्दमा मात्र चिप्लिए, यदि सरकार पनि यसरी चिप्लिँदै गयो भने भविष्य के हुन्छ ? अरिंगालहरूले आफू समर्थित सरकारलाई राम्रो काम गर्न दबाब दिनु र सरकारका राम्रा कामको प्रचार गर्नु हितकर हुन्छ ।

सरकारले एकसेएक राम्रा काम गरेर पशुपति शर्माहरूको मुख थुन्ने कहिले ?    

३. पशुपति शर्माको समर्थन

विरोधमा जस्तै समर्थनमा पनि सन्तुलित र असन्तुलित दुवै पक्ष छन् । असन्तुलित समर्थन गरेर पशुपति शर्मालाई देवत्वकरण गर्ने काम पनि भएको छ, यसको जिम्मा चाहिँ विपक्षी दल र वैकल्पिक दल हुँ भन्ने दलका नेता कार्यकर्ताहरूले लिएका छन्, जसलाई हनुमानगिरी प्रजातिका भन्न सकिन्छ । सन्तुलित समर्थन गर्नेहरू चाहिँ लोकगीत पारखीहरू छन्, जसलाई लोक गीतमा छमछम नाँच्नुबाहेक अर्को स्वार्थ छैन ।

विरोध गर्न पाउनु जनताको नैसर्गिक अधिकार हो, तर विरोध गर्नेहरूले सरकारले नै सेन्सर लगाएर हटाएजसरी सरकारलाई नै तारो बनाउने कार्यले हामी कति हल्लाको पछाडि लाग्छौं भन्ने देखाउँछ, यो पनि राम्रो संकेत पक्कै होइन । बरु पशुपति शर्माले गीत हटाउनु अरिंगालहरूको चर्को विरोधका कारणले हो भन्ने कुरा सजिलै बुझ्न सकिन्छ ।

यो घटनाले केही प्रश्नहरू उठाएको छ, हामीले खोजेको सशक्त प्रतिपक्ष कहिले आउने हो ? आफ्नो एजेन्डा नै नभएको जस्तो अरू कसैले केही भन्दियो भने त्यसकै पछि लाग्नु कांग्रेसको नियती भएको हो ? गोविन्द केसीले माफिया भन्दिए, हो सरकार माफिया नै रहेछ भन्ने । विदेशी नियोगले भ्रष्टाचार बढ्यो भन्दिए, हो सरकार भ्रष्टाचारीको संरक्षक भयो भन्ने । पश्चिमा प्रायोजितहरूले अधिनायकवाद भन्दिए, कांग्रेसले सरकार अधिनायकवादी हो भन्ने । पशुपति शर्माले लूटतन्त्र आयो भन्दिए, सरकार लुटेरा हो भन्ने । यस्तो पनि प्रतिपक्ष हुन्छ ? के  नेपाली कांग्रेसको आफ्नै एजेन्डा छैन वा आफ्नै आँखाले केही देख्न सक्दैन ? कांग्रेसको आफ्नो विश्लेषण के हो ? 

यो घटनालाई हेर्दा के देखिन्छ भने पशुपति शर्माले शब्द चयनमा घटियागिरी गरे । नेकपा र युवा संघका नेताहरूले दादागिरी गरे, अनि उनीहरूका कार्यकर्ताले अरिंगालगिरी गर्दैछन् ।

अब रह्यो कुरा वैकल्पिक माइतीघरे पार्टीहरूको । कांग्रेस भन्दा एक कदम अगाडि छन्, यिनीहरू । लाग्छ, पशुपति शर्माले ठूलो वैज्ञानिक थ्योरी पत्ता लगाएका थिए, सरकारले त्यसलाई अस्वीकार गरेर प्रतिबन्ध गर्‍यो । यिनीहरू जन्मदेखिको बल लगाएर मण्डलामा उफ्रिरहेका छन् । नयाँ पार्टीहरूबाट जनताले केही नयाँ कुराको आशा गरेका थिए, तर यिनीहरू यति पुरानो मोर्चा र अर्थहीन एजेण्डा सम्हालिरहेका छन्, जुन एजेण्डा र मोर्चा पुराना पार्टीहरूले अल्छी लागेर त्यागी सके । पशुपति शर्माले गीत आफैं हटाएर पुनः सम्पादनको वाचा गरिसके, तर वैकल्पिकवालाहरू माइतीघर मण्डलामा गीत बजाएर नाचिरहेका छन् । नयाँ एजेण्डा, नयाँ मोर्चा र नयाँ योजना हुँदै नभएका हुन् र ?

अन्त्यमा, यो घटनालाई हेर्दा के देखिन्छ भने पशुपति शर्माले शब्द चयनमा घटियागिरी गरे । नेकपा र युवा संघका नेताहरूले दादागिरी गरे, अनि उनीहरूका कार्यकर्ताले अरिंगालगिरी गर्दैछन् । कांग्रेस कार्यकर्ताले पशुपति शर्मालाई देवत्वकरण गरी हनुमानगिरी गर्दैछन्, कांग्रेसका एउटा नेताले त पशुपति शर्मालाई तलब दिन्छु भनेर चुतियागिरी नै गरे । अनि एजेण्डा र योजनाविहीन माइतीघरे पार्टीहरूले गाइजात्रागिरी गर्दैछन् । 
पशुपतिनाथले सबैको कल्याण गरून् । सद्बुद्धि पलाओस् ।

salt training

कमेन्ट गर्नुहोस्