०८ साउन २०८३, शुक्रबार

प्रस्तावित न्यायाधीशलाई सांसदको प्रश्न– ... वृद्धलाई बचाउने कि बच्चालाई ?

बैशाख ५, २०७६
प्रस्तावित न्यायाधीशलाई सांसदको प्रश्न– ... वृद्धलाई बचाउने कि बच्चालाई ?

काठमाडौं– यहाँको बायोडाटा हेर्दा योग्यता राम्रो नै देखिन्छ, तर प्रस्तुतिमा अलि कमजोरी हो कि ? कन्फिडेन्स लुज भएको हो कि ? सांसद सुरेन्द्र पाण्डेको प्रश्न भुइँमा खस्न नपाउँदै प्रस्तावित न्यायाधीश सुष्मालता माथेमाले एक शब्दमा जवाफ दिइन्– ‘विनम्रता !’ सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका पाँच प्रस्तावित न्यायाधीशका सम्बन्धमा सुनुवाइ गर्न बिहीवार सिंहदरबारमा समितिको बैठक बसेको थियो ।

उनले जवाफ दिने समय आउन बाँकी नै थियो, तर शायद उनलाई ‘कन्फिडेन्स लुज’ भएको भन्ने कुराले छोयो र बोलिहालिन् ।

केही समयपछि जवाफ दिने पालो आयो । सांसद पाण्डेको उक्त प्रश्नमा प्राथमिकताका साथ जवाफ दिएकी माथेमाले भनिन्, ‘न्यायाधीशको काम बोल्ने भन्दा सुन्ने बढी हुँदो रहेछ । जहाँसम्म कन्फिडेन्स लुज कि विनम्रता भन्ने प्रश्न छ, कन्फिडेन्स लुज त हुँदै होइन, नत्र यत्रो कार्यकाल सफलतापूर्वक सम्पन्न हुने नै थिएन ।’

माथेमालाई सांसद योगेश भट्टराईले सोधे– एनसेलसम्बन्धी सर्वोच्चको फैसलाको पूर्णपाठ आउँदा दायित्वभन्दा २८ अर्ब रुपैयाँ कम रकम तिर्नुपर्ने गरी फैसला आएको आशयका समाचार आएका छन्, अदालतमा यस्तो किन हुन्छ ?
जवाफमा उनले सर्वोच्च अदालतले फैसला सुनाइसकेको विषयमा आफूले ‘कमेन्ट’ नगर्ने बताइन् ।

माथेमापछि सुनुवाइका लागि उपस्थित प्रस्तावित न्यायाधीश कुमार रेग्मीलाई सांसद पाण्डेले नै प्रश्न सोधे– अहिले आर्टिफिसियल इन्टेलिजेन्स ‘एआई’बाट चल्ने गाडी आइसक्यो । मान्छेजस्तै कम्प्युटरले चलाउने गाडी । यस्ता गाडीले बाटोमा एउटा बच्चा र बूढालाई देख्यो र तीमध्ये एक जनालाई मात्र बचाउन सकिने अवस्था आयो भने कसलाई बचाउने, बूढालाई कि बच्चालाई ? यो विषयको निरूपण नभएसम्म यस्ता गाडी चल्न नदिने भनिएको छ । अब

तपाईंको इजलासमा पनि यस्ता मुद्दा आउन सक्छन्, हिजोको आखाँबाट हेर्ने कि मोडर्न युगको नयाँ आँखाबाट ? यस्ता सवारी साधनबाट हुने दुर्घटनामा कसलाई दण्डित गर्ने ? प्रविधि बनाउनेलाई कि, कसलाई ? 

रेग्मीले एआईसम्बन्धी प्रश्नको स्पष्ट जवाफ दिएनन् । तर पाण्डेकै अर्को प्रश्नको जवाफ दिए, जुन भ्रष्टाचारका सम्बन्धमा थियो– ‘न्यायाधीशले भ्रष्टाचार गर्नुभन्दा ठूलो पाप केही होइन । भ्रष्टाचार गर्ने न्यायाधीशलाई एक मिनेट पनि अदालतमा बस्न नदिनुस् । मैले भ्रष्टाचार गरेँ भने एक मिनेट पनि बस्न दिनु पर्दैन,’ रेग्मीले भने ।

प्रस्तावित न्यायाधीश हरि फुयाँललाई कांग्रेसका भीमसेन दास प्रधानले भागबण्डाका आधारमा न्यायाधीश नियुक्त हुने गरेको भन्दै कसरी निष्पक्षता कायम गर्ने भन्ने प्रश्न गरे । जवाफमा फुयाँलले पदीय मर्यादा कायम राख्ने र कसैप्रति अनुग्रहित नहुने बताए ।

प्रस्तावित न्यायाधीश प्रकाश ढुंगानालाई सांसद सुमनराज प्याकुरेलले अदालतमा बेन्च फिक्सिङबारे प्रश्न सोधे । पाटन उच्च अदालतको मुख्य न्यायाधीश रहिसकेका ढुंगानाले आफूले त्यस्तो अनुभव नगरेको बताउँदै हार्नेहरूले त्यस्तो आरोप लगाउने गरेको बताए ।

सुनुवाइका क्रममा प्रस्तावित न्यायाधीशहरूले संविधानको सर्वोच्चता डग्न नदिने, न्यायालयमा निष्पक्षता कायम राख्ने लगायतका प्रतिबद्धता जनाएका थिए ।

प्रक्रिया पूरा गर्न हतारहतार !

एकैदिन पाँचजना प्रस्तावित न्यायाधीशको सुनुवाइको कार्यतालिका रहेकाले सुनुवाइ सक्न भ्याइनभ्याइ भएको थियो ।

प्रस्तावित न्यायाधीश कुमार रेग्मीको सुनुवाइ सकिएपछि समिति सभापति लक्ष्मणलाल कर्णले अनौपचारिक प्रस्ताव राखे– ‘१० मिनेट ब्रेक लिने कि !’ 

अझै दुईजनाको सुनुवाइ बाँकी रहेकाले हलबाट आवाज आयो – ‘खाजा खाइहालियो, कन्टिन्यु गरौं ।’ त्यसअघि सुनुवाइ चलिरहँदा नै सांसदहरूले त्यहीँ खाजा खाएका थिए ।

बैठक जारी रह्यो । लामो समयसम्म बैठक चलिरहँदा सांसद तथा उपस्थित सञ्चारकर्मीहरू ‘हाई’ काढिरहेका देखिन्थे । 

समितिको बैठकमा क्रमश: प्रस्तावित न्यायाधीशहरू प्रकाश ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरि फुँयाल र डा. मनोजकुमार शर्माका सम्बन्धमा सुनुवाइ भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्