०१ असार २०८३, सोमबार

कोरोना प्रभावित क्षेत्रका नेपालीको उद्धार गर्न सांसदहरूको माग

कोरोना प्रभावित क्षेत्रका नेपालीको उद्धार गर्न सांसदहरूको माग
फाइल तस्वीर

प्रतिनिधिसभाका सांसदहरूले चीनको कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीको तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । 

प्रतिनिधिसभाको मंगलवारको बैठकमा समय माग गर्दै उनीहरूले कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीलाई स्वदेश ल्याएर राखिने ‘क्वारेन्टाइन स्थल’ विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार तत्काल व्यवस्था गरी उद्धार गर्न सुझाव दिए । 

सांसद सरिता गिरीले चीनको कोरोना भाइरस प्रभावित क्षेत्रमा नेपाली फसेको उल्लेख गर्दै तत्काल उनीहरूको उद्धार गरी नेपाल ल्याउन सरकारको ध्यानाकर्षण गराइन् । उनले यस विषयले संसद्मा आवश्यकताअनुसार प्राथमिकता पाउन नसकेको समेत बताइन् । सांसद प्रेम सुवालले कोरोना भाइरस प्रभावित क्षेत्रबाट स्वदेश ल्याइने नेपालीलाई राखिने ‘क्वारेन्टाइन स्थल’का रूपमा भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रलाई तोकिएकामा जनताको विरोध रहेको बताए । उनले त्यस्तो स्थल घना बस्तीभन्दा टाढा राख्न सरकारको ध्यानाकर्षण गराए । 

सांसद आशाकुमारी विकले बझाङको साइपाल गाउँपालिकामा हिमपातका कारण यातायात अवरुद्ध हुँदा भोकमरीको समस्या देखिएको भन्दै तत्काल हेलिकोप्टरबाट खाद्यान्न ढुवानी गरी समस्या समाधान गर्न माग गरे । सांसद एकवाल मिँयाले भारतबाट नेपालमा सामान आयात गर्दा प्रहरीबाटै अवरोध हुने गरेको गुनासो गर्दै सहज व्यवस्था गर्न माग गरे ।

salt training

कमेन्ट गर्नुहोस्