
प्रधानमन्त्री केपी शर्मा ओलीले सदाचारी भन्दा बढी भ्रष्टाचारी बोल्यो भने अचम्म मान्नुनपर्ने बताएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २९ औं स्थापना दिवसका दिन राजधानीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारीको स्वर ठूलो हुने बताएका हुन् ।
'सदाचारीले भन्दा बढी भ्रष्टाचारी बोलेको सुन्नुभयो भने अचम्म नमाने हुन्छ,' प्रधानमन्त्री ओलीले भने, 'भ्रष्टहरूलाई कारवाही गर्ने काम जस नपाउने काम हो । भ्रष्टाचारमा मुद्दा चलेपछि जसले पनि सराप्छ । त्यसबाट हतोत्साहित हुनुपर्ने जरुरी छैन ।'
प्रधानमन्त्री ओलीले समाजमा भ्रष्टाचारी जिवितै रहेको भन्दै देशलाई घाटामा पारेर आफूले नाफा लिने प्रवृत्ति बढेको उल्लेख गरे । 'यस्तो प्रवृत्ति अन्त्य हुनुपर्छ,' उनले भने, 'समाजमा भ्रष्टाचार भएकैले स्टिङ अपरेशनमा मान्छेहरू पर्ने गरेका छन् ।'
प्रधानमन्त्री ओलीले मान्छेहरूको इमान अहिले अलि खस्केजस्तो देखिएको बताए । 'पहिला पहिला तामा तुलसी समाउन सक्छस् भन्दा भ्रष्टाचारीहरू घोसेमुन्टो लगाउँथे,' प्रधानमन्त्रीले भने, 'अहिले हाकाहाकी तामा तुलसी समाउन तयार छु भन्छ । यसबाट मान्छेहरूको इमान र नैतिकता अलि खस्किएजस्तो देखिन्छ ।'
प्रधानमन्त्री ओलीले सरकारले कुनै पनि हालतमा अख्तियारलाई निर्देशन वा दबाब नदिएको बताए ।
'सरकारले अख्तियारलाई दबाब दिन्छ, आदेश वा निर्देशन दिन्छ भन्ने हल्ला सुन्छु,' उनले भने, 'त्यस्तो होइन, सरकारले संवैधानिक निकायलाई स्वतन्त्र ढंगले काम गर्न दिन्छ, हस्ताक्षेप गर्दैन । हस्तक्षेप गर्ने मनासय नै राख्दैन । यसो गर्नुहोस्, उसो गर्नुहोस् भन्ने कुरै आउँदैन ।'
तर सरकारले अख्तियार चलायो भनेर बजारमा भ्रम छर्ने कोशिस भने पर्याप्त भएको प्रधानमन्त्रीले बताए ।
कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीसमेत उपस्थित रहेको उक्त कार्यक्रममा प्रमुख आयुक्त नविन घिमिरेले अख्तियारको काम, भूमिका र चुनौतीका बारेमा सम्बोधन गरेका थिए ।