
चीनमा रहेका नेपाली ल्याउन जाने जहाजको चालक दलका १६ सदस्यलाई स्वास्थ्य मन्त्रालयले बुधबार तालिम दिँदै छ । ११ पुरुष र पाँच महिला रहेको चालक दलका सदस्यलाई कोरोना भाइरसको संक्रमणबाट जोगिन तथा जहाजमा अपनाउनुपर्ने सुरक्षाका विषयमा ‘फिजिकल प्रोटेक्टिभ इक्युपमेन्ट’ तालिम दिन लागिएको हो ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा. हेमन्त ओझा नेतृत्वको टोलीले उनीहरूलाई तालिम दिनेछ । चालक दलका सदस्यहरूको नाम गोप्य राखिएको छ । त्यस्तै, बिहीबार विमानस्थलमा जहाजको बाहिरी काममा खटिने कर्मचारीलाई तालिम दिने मन्त्रालयको तयारी छ ।
सरकारले चीनको हुबेई प्रान्तका विभिन्न स्थानमा रहेका एक सय ८० नेपाली लिन शनिबार नेपाल वायुसेवा निगमको एयरबस ३३०–२०० सिरिजको दुई सय ७४ सिटे जहाज वुहान पठाउँदै छ । जहाजमा दुई चिकित्सक, दुई नर्स र एक पारामेडिक्स रहेको चिकित्सक टोली पनि जानेछ । उनीहरूसहित चीनबाट ल्याइएका नागरिकको उपचारमा संलग्न हुने ८६ स्वास्थ्यकर्मीलाई सोमबार डा. ओझाको टोलीले तालिम दिएको थियो ।
स्वास्थ्यमन्त्री भानुभक्त ढकालले चीनबाट ल्याइने नेपाली राख्न सुरक्षित स्थान (क्वारेन्टाइन)मा एक सय ९९ बेड तयार पारिएको बताए । ‘चीनमा रहेका नेपालीलाई स्वदेश ल्याएर १४ दिन क्वारेन्टाइनमा राखेर संक्रमण भए–नभएको जाँचबुझ गरिन्छ । रोग नलागेको पुष्टि भएपछि मात्रै घर पठाइन्छ,’ मंगलबार संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा उनले भने ।समितिले चीनमा रहेका नेपालीलाई तत्काल उद्धार गर्न सरकारलाई निर्देशन दिएको छ ।
कोरोना भाइरसको संक्रमण फैलिएको लामो समय बितिसक्दा पनि उद्धारका लागि तत्परता नदेखाएको भन्दै समितिले यस्तो निर्देशन दिएको हो । ‘यो संक्रमणले जुनसुकै वेला पनि पिरोल्न सक्छ । त्यसैले दुई–चार दिनभित्रै चीनमा रहेका नेपालीलाई स्वदेश ल्याउनुपर्छ । अब ढिलो नगर्न निर्देशन दिएका छौँ,’ समिति सभापति जयपुरी घर्तीले भनिन् ।
सम्भावित संक्रमितका लागि बेड, क्वारेन्टाइन, उपचारलगायत विषयमा सरकारले सम्पूर्ण तयारी गरिसकेको मन्त्री ढकालले बताए । ‘एयरपोर्टसम्म जाने, ल्याउने, उनीहरूलाई व्यवस्थापन गर्ने जनशक्ति र अस्पताल पनि तयार भइसक्यो,’ उनले भने, ‘विमानस्थलमा जाँच गर्दा ज्वरो आएको पाइए टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा भर्ना गरिनेछ ।’
यसैबीच स्वास्थ्य मन्त्रालयले मंगलबार पाटन, वीर, शिक्षण, सिभिल र सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका प्रमुखहरूलाई तयारी अवस्थामा बस्न निर्देशन दिएको छ । ‘अब फेरि बोलाएर जानकारी लिने–दिने समय नहुने भएकाले तयारी अवस्थामा बस्न निर्देशन दिइएको हो,’ मन्त्रालयको आपत्कालीन तथा विपत् व्यवस्थापन इकाइ प्रमुख सागर दाहालले भने । सरकारले देशभरका ३६ अस्पतालमा एक सय ४७ बेड भएको आइसोलेसन वार्ड तयार गरेको छ । नयाँ पत्रिकामा खबर छ ।