
बाग्मती प्रदेशकोे भौतिक पूर्वाधार विकासमन्त्रीमा काठमाडौँका रामेश्वर फुँयाल नियुक्त भएका छन् । उनलाई बुधवार शपथ ग्रहण गराउने कार्यक्रम रहेको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
मुख्यमन्त्री डोरमणि पौडेलले मंगलवार भौतिक पूर्वाधार विकासमन्त्रीका रुपमा नियुक्त गरेका हुन् ।
यसअघि संविधानसभा सदस्यसमेत रहेका फुँयाल लामो राजनीतिक यात्रापछि पहिलोपटक मन्त्री बन्न लागेका हुन् । तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री केशव स्थापितलाई मुख्यमन्त्री पौडेलले वर्खास्त गरेपछि रिक्त रहेको मन्त्रालयको काम मुख्यमन्त्री पौडेल आफैँले सम्हाल्दै आएका थिए ।
वाग्मती प्रदेशको स्थायी राजधानी र नामाकरणपछि फुँयाल मन्त्री बन्ने चर्चा निकै चलेको थियो । वाग्मती प्रदेशका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रमुख सचेतक रहेका फुँयाल गाविस अध्यक्ष, जिल्ला विकास समितिको उपसभापति, संधिानसभा सदस्य, प्रदेशसभा सदस्य हुँदै मन्त्री बनेका हुन् ।
मुख्यमन्त्रीसँग विबादका कारण स्थापित २०७५ कात्तिक १६ गते विस्थापित भएका थिए । स्थापित विस्थापित भएको १५ महिना पछि भौतिक पुर्वाधार मन्त्रायले मन्त्री पाएको छ । २०७० सालको संविधानसभा निर्वाचनमा काठमाडौं ३ वाट प्रत्यक्ष निर्वाचित तथा प्रदेशसभा निर्वाचनमा काठमाडौं ३ क बाट प्रत्यक्ष निर्वाचित हुन् ।