प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले चीनमा नेपाली नागरिक अलपत्र रहेको समयमा सारंगी रेटेर मनोरञ्जन लिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेकी छन् ।
प्रतिनिधि सभाको बुधवार बसेको बैठकको विशेष समयमा सांसद पन्तले प्रधानमन्त्री ओलीमा रोम शासक निरोको प्रवृत्ति झल्किएको आरोप लगाएकी हुन् ।
‘माघ २१ गते प्रधानमन्त्री केपी ओलीले बालुवाटारमा आयोजना गर्नुभएको ‘सारंगी साँझ’को तस्वीरले ज्यादै द्रवित बनायो । कल्पना गरौं, यदि निरोको तस्वीर भइदिएको भए त्यो तस्वीरसँग यो तस्वीर उस्तै देखिन्थ्यो होला ! निरोको प्रवृत्तिसँग प्रधानमन्त्रीको यो कार्य मिल्दोजुल्दो छ,’ उनले भनिन्, ‘प्रधानमन्त्रीज्यू बाँसुरीको धुनमा मस्त हुनुहुन्छ । प्रधानमन्त्रीज्यू अहिले मनोरञ्जन गर्ने फुर्सदमा हुनुहुन्छ । म सोच्ने गर्छु, चीनमा अलपत्र र दूरदराजका नागरिकले प्रधानमन्त्रीको संगीतमय नयाँ अवतार कसरी हेरे होलान् ?’
सरकार एउटा व्यापारी समूहलाई राज्यको सम्पत्ति जिम्मा लगाउन लागिपरेको भन्दै उनले सदनमा प्रधानमन्त्री ओलीको जवाफ समेत माग गरिन् । यती समूहसँग सरकार सती गएको भन्दै उनले सरकारको आलोचना समेत गरिन् ।