रूपन्देहीको पश्चिम क्षेत्रको पुरानो बजार सौ फर्साटिकरमा औद्योगिक व्यापार मेला हुने भएको छ ।
ग्रामीण क्षेत्रको उत्पादनलाई प्रवर्द्धन गर्न सौ फर्साटिकर व्यापार संघले पहिलोपटक प्रथम राष्ट्रिय शुद्धोधन कृषि पर्यटन तथा औद्योगिक व्यापार मेला आयोजना गरेको हो ।
‘शुद्धोधनको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि पर्यटन उद्योग तथा व्यापारको पूर्वाधार’ भन्ने नाराका साथ मेला बिहीवारदेखि शुरू हुँदैछ ।
आयोजकले बुधवार पत्रकार सम्मेलन गरी मेलाको तयारी पूरा भएको जानकारी दियो ।
सौ फर्साटिकर व्यापार संघका अध्यक्ष हुमकान्त पाण्डेले ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउँदै ग्रामीण उत्पादनलाई बजारीकरण गर्न मेला आयोजना गरिएको बताए ।
मेलामा १ सय २१ वटा स्टल रहनेछन् ।
‘तिनाउ पारिको फर्साटिकर पुरानो बजार हो । मेलालाई सफल बनाउन प्रदेशको उद्योग, पर्यटन मन्त्रालय र रूपन्देही व्यापार संघ तथा शुद्धोधन गाउँपालिकासँग पनि सहकार्य गरेका छौं ।
अहिलको मेलादेखि ग्रामीण क्षेत्रको उदाउँदो बजार फर्साटिकरको विकासमा मेलाले टेवा पुर्याउने छ ।’
मेला १ लाख दर्शकले अवलोकन गर्ने तथा १ करोड रूपैयाँ बराबरको कारोवार हुने लक्ष्य लिइएको संघका उपाध्यक्ष अर्जुन थापाले जानकारी दिए ।
‘मेलामा ग्रामीण क्षेत्रकै ४० वटा स्टल रहने छन् । त्यस्तै यहाँ उत्पादित चिउरा, मखमलीको जुत्ता, बेतबासका उत्पादन पनि बिक्रीका लागि राखिनेछन्,’ थापाले भने ।
मेलामा वडास्तरीय भलिबल र फर्साटिकर डान्स आइडल पनि रहनेछ ।
फागुन १३ गतेसम्म चल्ने मेलाको खर्च ३७ लाख रूपैयाँ हुने आयोजकको अनुमान छ ।
मेलाबाट स्थानीय उपभोक्ताले स्थानीय तहमा नै सुपथ मूल्यमा विविध सामग्री खरिद गर्नसक्ने अवसर दिइने संघका वरिष्ठ उपाध्यक्ष नवराज आचार्यले जानकारी दिए ।