
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाने नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकृत शालिकराम खनालविरुद्ध आरोपपत्र दायर गरेको छ ।
प्रवक्ता प्रदीपकुमार कोइरालाले आइतवार प्रेस विज्ञप्ति जारी गर्दै अख्तियारको छानबिनमा खनालले नक्कली प्रमाणपत्र पेश गरेको जनाएका छन् ।
अख्तियारले विशेष अदालतमा मुद्दा दायर गर्दै खनालमाथि भ्रष्टाचार निवारण ऐन अनुसार दोषी ठहर गर्न माग गरिएको छ ।
विज्ञप्तिमा लेखिएको छ, ‘नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकृत शालिकराम खनालको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने प्रतिवेदन उपर अनुसन्धान हुँदा निजले बिहार संस्कृत शिक्षा बोर्ड पटना भारतबाट पास गरेको झुठ्ठा शैक्षिक प्रमाणपत्र पेश गरी मिति २०५३/०२/०१ देखि तत्कालीन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयमा रापअन तृतीय श्रेणीमा नियुक्ति भै सेवामा बहाल रही लाभसमेत लिई रहेको देखिएको हुँदा निजको उक्त कार्य साविक भ्रष्टाचार निवारण ऐन २०१७ को दफा १२ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुर देखिएको हुँदा निज शालिकराम खनाललाई साविक भ्रष्टाचार निवारण ऐन २०१७ को दफा १२ र सोही ऐनको दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।’