
चालू आर्थिक वर्षको ६ महिनामा महँगी (मूल्यवृद्धि) ६.८२ प्रतिशत पुगेको छ।
नेपाल राष्ट्र बैंकले उपभोक्ता मुद्रास्फीति भनिने मूल्यवृद्धि यो वर्ष ६ प्रतिशतमा सीमित गर्ने लक्ष्य राखेपनि लक्ष्य नाघेको हो।
राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा सबैभन्दा बढी तराईमा मूल्यवृद्धि देखिन्छ।
यसअघि तुलनात्मक रुपमा काठमाडौँमा मूल्यवृद्धि बढी देखिने गरेकोमा यो पछिल्लो ६ महिनामा तराईमा महँगी बढेको देखिन्छ। तराईमा मूल्यवृद्धि ७.४६ प्रतिशत पुगेको छ।
यस्तो मूल्यवृद्धि काठमाडौँ उपत्यकामा ७.२४ प्रतिशत, पहाडमा ५.३९ प्रतिशत र हिमालमा ५.०१ प्रतिशत रहेको छ।
अघिल्लो वर्षको सोही महिनामा नेपालको मूल्यवृद्धि ४.४५ प्रतिशत थियो।
चालू आवको पुस मसान्तमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि १०.२१ प्रतिशत पुगेको छ।
गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि ४.२५ प्रतिशत रहेको छ । सो अवधिमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी, मसला, दाल तथा गेडागुडी र फलफूल उपसमूहको मूल्यवृद्धि उच्च रहेको छ । गैरखाद्य तथा सेवा समूहअन्तर्गत शिक्षा, लुगा तथा जुत्ता र फर्निसिङ तथा घरायसी उपकरण उपसमूहको मूल्य बढेको छ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ५ महिनाको समीक्षा गर्दा औषत मूल्यवृद्धि ६.५५ प्रतिशतले बढेको जनाएको थियो।