
उखु बिक्रीको करिब डेढ अर्ब रुपैयाँ भुक्तानी नपाएपछि गत पुसमा काठमाडौं आएर आन्दोलन गरेका उखु किसानलाई रकम दिलाउन सरकारले चिनी मिललाई कागज गरायो । किसानलाई ७ माघसम्म सम्पूर्ण भुक्तानी दिलाउने बाचा गरेर जिल्ला फर्कायो । तर, म्याद नाघेको एक महिनासम्म उखु किसानले मिलबाट अझै एक अर्ब भुक्तानी पाएका छैनन् । त्यति मात्र होइन, सरकारले नै किसानलाई अनुदानबापत दिनुपर्ने १ अर्ब ३२ करोडसमेत नदिएर धोका दिएको छ ।
किसानलाई सरकारले उखु काट्ने बेलामा (मंसिर, पुस) मा अघिल्लो वर्षको अनुदान दिइसक्नुपर्ने हो । तर, सरकारले आर्थिक वर्ष ०७४–७५ को २ करोडसहित १ अर्ब ३२ करोड रुपैयाँ अनुदान रकम दिन बाँकी छ । चिनी उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले भने, ‘त्यसमध्ये ९२ करोड जिल्ला–जिल्लामा पुगेको जानकारी आएको छ, तर अधिकांश किसानले पाएका छैनन्, बाँकी ४१ करोड ३९ लाख रुपैयाँ त केन्द्रबाट निकासा नै भएको छैन ।’ उद्योगीले रकम दिन अटेर गरिरहँदा पनि सरकारले हस्तक्षेप नगरेको महासंघका अध्यक्ष मैनालीले दुखेसो गरे । ‘उद्योगीले बाचा गरेअनुसार भुक्तानी नगरेको र सरकारले समेत अनुदान नदिएपछि देशभरका किसान पुनः आन्दोलन गर्नुपर्ने अवस्थामा पुगेका छन्’, उनले भने ।
कसले कति भुक्तानी गर्न बाँकी ?
सरकारको ४१ करोड ३९ लाख अनुदान निकासामा पनि ढिलाइ गरेको छ । सरकारले उखु किसानलाई प्रतिक्विन्टल ६५ रुपैयाँ अनुदान उपलब्ध गराउँछ । तर, गत वर्षको ४१ करोड ३९ लाख रुपैयाँ निकासा अझै गरिदिएको छैन । यो रकममा अघिल्लो आव ०७४–७५ को २ करोड रुपैयाँसमेत जोडिएको छ । यो अनुदान रकम उपलब्ध गराउन कृषि तथा पशुपक्षी विकास मन्त्रालयले बल्ल गत आइतबार अर्थ मन्त्रालयलाई पत्राचार गरेको थियो । तर, अर्थले अहिलेसम्म निर्णय गरेको छैन । उखु किसानलाई उपलब्ध गराउनुपर्ने १ अर्ब ३३ करोड रुपैयाँमध्ये अर्थले दसैँअघि ९२ करोड रुपैयाँँ निकासा दिएको थियो ।
‘लालपुर्जाका आधारमा अनुदान रकम उपलब्ध गराउन गत मंगलबार कृषि र उद्योग मन्त्रालयबाट निर्णय भएको छ,’ मैनालीले भने, ‘सबै किसानलाई पत्राचार पनि भएको छ । तर, सरकारले जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयमा पैसा पठाएको छैन ।’ चालू सिजनको उखु क्रसिङ सकिन लागेको छ । तर, किसानले रकम पाएका छैनन् । सर्लाहीको महालक्ष्मी सुगर मिलले किसानलाई ७ करोड रुपैयाँँ दिन बाँकी छ । केही दिनअघि मात्र ३ करोड रुपैयाँँ वितरण गरेको थियो । सो उद्योगले यसअघि ११ करोड २८ लाख रुपैयाँँ दिएको थियो ।
सर्लाहीको अन्नपूर्ण सुगर मिलले सबैभन्दा धेरै रकम किसानलाई दिन बाँकी छ । उक्त उद्योगले ४२ करोड रुपैयाँँ दिन बाँकी छ । उद्योगीले उद्योग नै बन्द गरेर बसेका छन् । रौतहटको श्रीराम सुगर मिलले २६ करोड ७७ लाख रुपैयाँँ किसानलाई भुक्तानी गर्न बाँकी छ । नवलपरासीको लुम्बिनी सुगर मिल र इन्दिरा सुगर मिलले ११–११ करोड भुक्तानी गर्न बाँकी छ । सिराहाको हिमालयन सुगर मिलले २० लाख ६४ हजार र कन्चनपुरको महाकाली सुगर मिलले ६२ हजार रुपैयाँँ भुक्तानी गर्न बाँकी छ ।
किसानको भुक्तानी गर्न दबाब दिइरहेका छाैं : मन्त्रालय
वाणिज्य मन्त्रालयका सहसचिव ध्रुव घिमिरेले उद्योगीलाई दबाब दिएर किसानको बक्यौता तिर्न दबाब दिइरहेको जानकारी दिए । ‘किसानको पैसा नदिई उद्योगीलाई सुखै छैन,’ उनले भने, ‘बिस्तारै तिर्न थालेका छन् । हामीले पनि उद्योगीमाथि दबाब बढाइरहेका छौँ ।’ नयाँ पत्रिकामा खबर छ ।