
ललितपुरको टीकाथलीस्थित नारायण आधारभूत विद्यालयमा अध्ययनरत छात्राहरूले आफूमाथि शिक्षकले अभद्र व्यवहार गरेको भन्दै प्रधानाध्यापकलाई हस्तलिखित पत्र थमाएका छन् ।
'हामीमाथि अन्याय र आत्याचार भएको छ,' १३ वर्षभन्दा मुनिका छात्राहरूले पत्रमा लेखेका छन्, 'केटीहरूलाई ढाडमा सुम्सुम्याउने, छातिमा छुन आउने जस्ता काम गरिएको छ । नन्द सरले हामीलाई नराम्रो व्यवहार गरेकाले छानबिन गरिदिन अनुरोध गर्दछौं ।'
सामाजिक शिक्षा पढाउने 'नन्द सर'ले आफूहरूमाथि अभद्र व्यवहार गरेकाले छानबिन गरिदिन भन्दै बिहीवार उनीहरूले प्रधानाध्यापकलाई पत्र लेखेका हुन् । पत्रमा कक्षाका १९ छात्राले हस्ताक्षर गरेका छन् ।
पत्र पाएपछि विद्यालय व्यवस्थापन समितिको बैठक समेत डाकिएको थियो ।
स्रोतका अनुसार छात्रामाथि दुर्व्यवहार गर्ने शिक्षक नन्द निरौलालाई सातदोबाटो प्रहरीले पक्राउ गरेको छ, तर समाचार लेख्दासम्म स्कूल र छात्राका अविभावकतर्फबाट कुनै जाहेरी परेको छैन ।
जाहेरी नपरे पक्राउ परेका शिक्षकलाई आफन्तको जिम्मा लगाउने तयारी रहेको प्रहरी स्रोतको दाबी छ ।
'स्कूलको नाम बदनाम हुन्छ भनेर कम्प्लेन गरिएको छैन,' सोही स्कूलमा पढाउने एक शिक्षकले नाम नबताउने शर्तमा लोकान्तरसँग भने ।
महालक्ष्मी नगरपालिकाका शिक्षा शाखा प्रमुख रामबन्धु सुवेदीले औपचारिक रूपमा आफूसमक्ष यो विषय नआएको बताए ।
'अनौपचारिकरूपमा थाहा पाएको हो मैले, शिक्षक र विद्यालय व्यवस्थापन समितिकै बीचमा सहमति भएर टुंगियो होला,' सुवेदीले भने ।
तर छात्राहरूलाई अभद्र व्यवहार गर्ने शिक्षकसँग पनि सहमति हुन्छ र भन्ने प्रश्नमा उनले केही जवाफ दिएनन् ।
'उहाँहरू प्रहरीमा पनि जानुभएको होला,' उनले भने । त्यतैबाट केस समाधान भएकाले आफूसमक्ष नआएको हुनसक्ने उनको भनाइ छ ।
यसबारेमा ललितपुरका जिल्ला शिक्षा अधिकारी योगेन्द्रप्रसाद बरालले पनि अनविज्ञता प्रकट गरे ।
'हामीसमक्ष कुनै औपचारिक जानकारी आएको छैन, मैले पनि तपाईंहरूले नै भनेर थाहा पाएँ,' बरालले लोकान्तरसँग भन, 'अब थप बुझेर कारवाही गरौंला ।'