
कृषि तथा वन विज्ञान विश्वविद्यालय कृषि क्याम्पस चितवनमा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का पूर्व एमाले र पूर्व माओवादीनिकट विद्यार्थी समूहबीच कुटाकुट भएको छ ।
जनयुद्ध दिवसका बारेमा लेखिएको फेसबूक पोस्टमा गरिएको कमेन्टलाई लिएर दुवैतर्फका विद्यार्थीबीच कुटाकुट भएको नेकपा चितवनका नेता आरसी अधिकारीले लोकान्तरलाई जानकारी दिए ।
'भुवन भट्ट भन्ने विद्यार्थीले जनयुद्ध दिवससम्बन्धी फेसबूक पोस्ट गरेका रहेछन्,' अधिकारीले भने, 'त्यसमा पूर्वएमाले पक्षका विद्यार्थीहरूले नकारात्मक कमेन्ट गरे । कमेन्टमा कुरा हुँदाहुँदै विवादले उग्र रूप लिएको देखिन्छ ।'
दुवै विद्यार्थी समूहबीच यसअघि फागुन २ गतेपनि दुई–पटक कुटाकुट भएको थियो । त्यतिबेला पहिला पूर्वमाओवादीनिकट विद्यार्थीहरूले आक्रमण गरेर सागर काफ्ले, विक्रम केसीलगायतलाई घाइते बनाइदिएका थिए ।
सोही दिन पूर्वएमाले निकट विद्यार्थीहरूले अर्को समूहलाई आक्रमण गरे र केही विद्यार्थीलाई घाइते बनाए ।
त्यति हुँदा पनि यो विषय बाहिर नल्याउन दुवै पक्ष सहमत भए, तर सोमवार दुवै पक्षबीच ठूलै झडप भयो ।
यसक्रममा अनेरास्ववियु चितवनका अध्यक्ष देव पाठकमाथि रड प्रहार भएको छ । पाठकको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । उनको टाउकोमा ६ वटा टाँका लगाइएको छ ।
लगातारको झडपले विद्यार्थी त्रासमा रहेकाले परीक्षा रोक्न निवेदन लिएर पाठक कृषि क्याम्पस पुगेका थिए । त्यसैक्रममा उनीमाथि आक्रमण भएको हो ।
तत्कालीन दुवै पार्टीका भातृसंगठनबीच अन्त एकता भएपनि रामपुरको कृषि विश्वविद्यालयमा भने एकता हुन सकेको छैन ।
सोमवारको झडपपछि चितवन पार्टी कार्यालय पनि तोडफोड गरिएको छ । नेता अधिकारीले कुन पक्षले तोडफोड गरेको हो भन्ने नखुलेको दाबी गरे ।
क्याम्पसमा कुटाकुट गरेपछि पार्टी अध्यक्ष यमबहादुर परियारको कार्यकक्ष तोडफोड गर्न एक हुल विद्यार्थी पुगेका थिए ।
'त्यता झडप भएपछि अराजक झुण्ड आएर पार्टी कार्यालय तोडफोड गरेको छ,' अधिकारीले भने ।
यता अनेरास्ववियुकी केन्द्रीय सदस्य निशा अधिकारीले क्याम्पसभित्र खुँडा र रड बोकेर हिँड्नेहरू अनेरास्ववियु हुन नसक्ने टिप्पणी गरिन् ।
लोकान्तरसँग कुरा गर्दै उनले भनिन्, 'क्याम्पसभित्र खुँडा र रड बोकेर पस्ने अनेरास्ववियु हुन सक्दैन, चाहे पूर्व क्रान्तिकारी हुन्, चाहे पूर्व अखिल, घटनामा मुछिएकालाई कारवाही हुन्छ ।'
घटनाबारे संगठनको केन्द्रीय नेतृत्व र पार्टीलाई जानकारी गराइसकेको उनले बताइन् ।
'घटनापछि यसबारे संगठनमा आफूभन्दा माथिको नेतृत्वलाई जानकारी गराइसकेको छु,' अधिकारीले भनिन्, 'माथिबाट कुनै निर्देशन आइसकेको छैन, हमी छलफलको पहिलो चरणमा नै छौं ।'
संगठनका इमान्दार कार्यकर्ताले यस्तो गर्न नसक्ने भन्दै उनले यो विभिन्न स्वार्थ बोकेका झुण्डहरूको काम भएको बताइन् ।