२१ असार २०८३, आइतबार

भ्रमण वर्षलाई लक्षित गरी पहिलो पटक ‘पैदलयात्रा’

फागुन ६, २०७६
भ्रमण वर्षलाई लक्षित गरी पहिलो पटक ‘पैदलयात्रा’

भ्रमण वर्ष २०२० लाई लक्षित गरी पहिलोपटक पैदलयात्रा हुने भएको छ ।

कालीगण्डकी बेँसी पाल्पाको रामपुर नगरपालिका र स्याङ्जाको चापाकोट नगरपालिकालाई जोड्ने गरी सीताकुण्डदेखि रामडाँडासम्म पैदलयात्रा हँुदैछ । ‘उइ लभ पिपुल’ नामक संस्थाको आयोजनामा रामपुर नगरपालिकाले समन्वय गरी पैदलयात्रा गर्न लागेको हो ।

पर्यटनको प्रचुर सम्भावना बोकेको रामपुर चापाकोट क्षेत्रमा पर्यटकलाई पैदलयात्रामा सहभागी गराएर यहाँको पर्यटकीय, धार्मिक, ऐतिहासिक क्षेत्रको अवलोकन गराउन पैदलयात्रा कार्यक्रम आयोजना गरिएको हो । रामपुर नगरपालिकाको पर्यटकीय सीताकुण्डदेखि स्याङ्जा चापाकोट नगरपालिकाको पर्यटकीय रामडाँडासम्म पर्यटकलाई पैदलयात्रा गराउने कार्यक्रम तय भएको छ ।

दोस्रो रामपुर पर्यटन महोत्सव २०७६ को सन्दर्भ पारेर यही फागुन २४ गतेदेखि हुने साताव्यापी पर्यटन महोत्सवका अवसरमा पैदलयात्रा कार्यक्रम सञ्चालन गरिने तयारी भइरहेको हो । 
कालीगण्डकीको वारिपारि रहेको रामपुर र चापाकोट क्षेत्र पर्यटनका हिसाबले अत्यन्तै राम्रो भूगोल रहेको हँुदा भ्रमण वर्षलाई लक्षित गरी आयोजना गरिएको पैदलयात्रा कार्यक्रमले कालीगण्डकी बेँसी क्षेत्रको पर्यटन विकासमा ठूलो टेवा पुग्ने रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले बताए ।

“पैदलयात्रा गराएर आन्तरिक पर्यटकका अतिरिक्त बाह्य पर्यटक भित्र्याउने हाम्रो लक्ष्य हो, पैदलयात्रामा सहभागीलाई रामपुर र चापाकोटका हेर्न लायकका तथा लोपोन्मुख ठाउँहरू अवलोकन गराउने व्यवस्था छ, यसबाट पनि यो क्षेत्रको पर्यटन विकासमा राम्रो प्रभाव पर्नेछ”, नगरप्रमुख थापाले भने ।

पैदलयात्रामा कम्तीमा २५ पर्यटकलाई सहभागी गराइनेछ । सहभागीका लागि खाना र आवासको व्यवस्थापन नगरपालिकाले गर्नेछ । नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भलाई सफल बनाउन र रामपुर चापाकोटको पर्यटन विकासलाई माथि उकास्न रामपुर नगरपालिकासँगको सहकार्यमा पहिलोपटक पैदलयात्रा कार्यक्रम गर्न लागेको ‘उइ लभ पिपुल’ संस्थाका अध्यक्ष निर्मल शाहीले बताए ।

“यो क्षेत्रको पर्यटन विकासमा नयाँपन दिन र विशेषतः प्रदेशले दुई भागमा विभाजन गरे पनि रामपुर र चापाकोट क्षेत्रलाई पर्यटन विकाससँगसँगै अगाडि बढाउन, दुई ठाउँबीचको सम्बन्ध बढाउन यो कार्यक्रम गर्न लागेका हौँ”, उहाँले भन्नुभयो । चापाकोटको रामडाँडाबाट शुरु गरी चापाकोट क्षेत्रका विभिन्न पर्यटकीय धार्मिक क्षेत्रको अवलोकन गराउँदै रामपुरको पर्यटकीय क्षेत्र भुजात सिद्धबाबाधाम, तालपोखरा, राम्चे दृश्यावलोकन स्तम्भ हँुदै सीताकुण्डसम्म पुग्ने कार्यक्रम तय भएको छ ।

दुई वर्षअघि स्थापना भएको यस संस्थाले सामाजिक कार्यमा काम गर्दै आइरहेको छ । सामाजिक सञ्जालमार्फत गठन भएको यो संस्थामा १४ जिल्लाका युवा आबद्ध छन् । यो क्षेत्रमा नै पहिलोपटक पैदलयात्रा हुने भएपछि यहाँका स्थानीयवासी उत्साहित भएका छन् । सुशीला रेग्मी,रासस

salt training

कमेन्ट गर्नुहोस्