संसारभरि आतंकवादी समूह इस्लामिक स्टेट (आईएस) को पतनको उत्सव मनाइरहँदा समूह फेरि जाग्न थालेको पाइएको छ ।
हालैका रिपोर्टहरूमा आईएससँग सन् २०१४ मा खलिफा शुरू गरेभन्दा बढी लडाकू रहेको र लाखौं डलर सम्पत्ति पनि रहेको देखिएको छ ।
इराकी कुर्दिस्तानका प्रधानमन्त्री मसरूर बारजानीले आईएस अझै छिन्नभिन्न नभएको बताए ।
दी एट्लान्टिक पत्रिकासँग कुरा गर्दै उनले भने, ‘हो, उनीहरूले नेतृत्व गुमाएका छन् । उनीहरूले सक्षम मानिस पनि धेरै गुमाएका छन् । तर उनीहरू थप अनुभव हासिल गर्न पाएका छन् र अझ बढी मानिस भर्ती गर्न पनि सकेका छन् । त्यसैले उनीहरूलाई हलुका रूपमा लिनुहुँदैन ।’
यी कुर्दिश नेताले आईएससँग इराक र सिरियामा लगभग २० हजार लडाकू रहेको विश्वास गरिएको बताए । सन् २०१४ मा आईएस स्थापना भएको बेलामा भन्दा यो लगभग दोब्बर संख्या हो ।
संयुक्त राष्ट्रसंघले हालै जारी गरेको प्रतिवेदनमा आईएससँग अझै १० करोड डलर रकम सञ्चित रहेको लेखिएको छ ।
पोहोर सालको मार्च महिनामा संसारले सिरियामा आईएसको पराजयको उत्वि मनाएको थियो । अनि गत अक्टोबर महिनामा आईएसका पूर्वप्रमुख अबु बकर अल–बग्दादीले अमेरिकी सेनाको कारवाहीमा परेपछि आफैंलाई बमले उडाएका थिए ।
अमेरिकाको रक्षा मन्त्रालयका इन्स्पेक्टर जनरलको एक ताजा प्रतिवेदनमा आईएसलाई निस्तेज पार्न निकै कम काम भएको उल्लेख छ ।
अमेरिका र इरानबीच तनावको स्थिति रहँदा आईएसको पुनर्जागरणलाई थप प्रोत्साहन प्राप्त भएको छ ।