
प्रदेश ५ को बाँकेमा म्याद गुज्रेको औषधि खुवाइएको पाइएको छ । बाँकेको डडुवा गाउँपालिका वडा नम्बर २ मा स्वास्थ्यकर्मीले हात्तीपाइले रोगको मिति सकिएको औषधि खुवाइएको भन्दै प्रदेश सांसद विजय बहादुर यादवले स्वास्थ्यकर्मीलाई कारवाहीको माग गरेका छन ।
प्रदेशसभाको मंगलबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसद यादवले जनताका आधारभूत आवश्यकताको रुपमा रहेको स्वास्थ्य जस्तो संवेदनशील बिषयमा पनि गम्भीर लापरवाही भएको भन्दै कारवाही गर्न माग गरे ।
स्वास्थ्य इन्चार्जलाई दिने र औषधि वितरण गर्नेलाई पनि कारवार्ही गर्न माग गरे । तीन महिना म्याद सकिएको औषधि वितरण भएको यादवको भनाइ छ ।
त्यस्तै अर्का कूलप्रसाद पोखरेलले जनताले छनोट गरेका योजना भन्दा कर्मचारीहरुबाट छनोट गरेका योजनाले प्राथमिकता पाउने गरेको भन्दै जनताले छनोट गरेका योजनाहरुलाई प्राथमिकतामा राख्न माग गरे ।
बिशेष समयमै बोल्दै प्रदेश सभा सदस्य अष्टभुजा पाठकले एउटा वडामा परेको योजना मन्त्रालयका सचिवले अर्को वडामा सार्ने काम गरेको भन्दै सरकार जनप्रतिनिधिले चलाउने हो की कर्मचारीले भनि प्रश्न गरे ? ।
प्रदेश सभा सदस्य इन्द्रप्रसाद खरेलले संसदले बनाएका कानूनहरु अझै पनि जनपक्षीय हुन नसकेको भन्दै हाकिमको चित्त बुझे जनताले न्याय पाउने र हाकिमको चित्त नबुझे न्याय नपाउने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिए ।
त्यस्तै प्रदेश सभा सदस्य सन्तोष कुमार पाण्डेले प्रदेश नं ५ लाई परिक्षणको केन्द्र नभएर बिकासको केन्द्रको रुपमा बिकास गर्नुपर्नेमा जोड दिए । प्रदेशसभाको बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कूलप्रसाद केसीले स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुबिधा सम्बन्धी कानूनमा संसोधन र एकीकरण गर्न बनेको विधेयक र लोकसेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवाको सर्त र सुबिधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गरे ।
त्यसैगरी बैठकमा प्रदेश मामिला तथा कानून समिति सभापति दामा कुमारी शर्माले सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको समितिको प्रतिवेदन सहितको विधेयक पेश गरे ।