
अफड्युटीमा रहेका अनि डेट नाइटमा गएका दुई प्रहरी अधिकारीहरूले केन्टकीमा रहेको एक रेस्टुराँमा डकैती रोकेका छन् ।
चेज र निकोल मककिओन दुवैजना एलिजाबेथटाउनमा प्रहरी अधिकारी हुन् र उनीहरूको विवाह भएको ६ महिना मात्र भएको छ ।
रेजिङ केन्स नामक रेस्टुराँ उनी साँझपख खान गएका थिए । खाना खाँदै गर्दा मुकुण्डो लगाएका एक व्यक्ति आए र काउन्टर अगाडि उभिए ।
‘हामी दुवैले उसलाई एकैचोटि देख्यौं,’ निकोलले पत्रकार सम्मेलनमा भनिन् ।
निकोलले काउन्टरपछाडिका मानिसले दुवै हात उठाएको देखिन् अनि उनी र चेजलाई गडबडीको आशंका भयो ।
त्यसपछि उनीहरूले आफ्नो बन्दूक निकाले र मुकुण्डोधारीलाई रेस्टुराँबाट भगाए । उनीहरूले उसलाई रेस्टुराँबाट केही परसम्म लखेटे अनि बन्दूक ताकेर रोके । त्यसपछि लुइसभिल मेट्रो प्रहरी आइपुग्यो र उसलाई पक्राउ गर्यो ।
डकैती हुन लागेको देखेपछि आफूहरूमा प्रहरीको कर्तव्य याद आइहालेको उनीहरूले बताए ।
‘हामीहरूले एक अर्कालाई हेर्यौं र के भइरहेको छ, ल कारवाही गरौं भन्यौं,’ चेजले बताए ।
‘मानिसहरूको जीवन खतरामा पर्दा कुनै पनि प्रहरी अधिकारीले यही काम गर्छ,’ निकोलले भनिन् ।
आरोपितलाई अहिले लुइसभिलमा हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।
घटनाको भिडियो हेर्न यहाँ क्लिक गर्नुस् ।
सीएनएनबाट