
जर्मनीको हानाउ शहरमा दुईवटा हुक्का बारमा आक्रमण हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको र अन्य केही व्यक्ति गम्भीर घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।
बुधवार राति १० बजेतिर आक्रमण भएको प्रहरीको भनाइ छ ।
आक्रमणकारीहरूको खोजीमा सशस्त्र प्रहरीहरू खटिएका छन् । शहरमाथि हेलिकप्टर पनि उडिरहेको छ ।
स्थानीय समयअनुसार बिहीवार बिहान ५ बजे प्रहरीले ट्वीट गरेर विशेष प्रहरी बलका अधिकारीहरूले आरोपितको घरमा छावा मारेको र अर्को एक मृत शरीरसँगै उनी पनि मृत फेला पारेको जनाएको छ ।
‘मर्नेमध्ये एक अपराधी हुन सक्छ,’ प्रहरीले बयान जारी गरेर भन्यो । ‘अन्य दोषीहरूको कुनै संकेत पाइएको छैन । पीडितहरूको र आरोपित पीडकको पहिचान खुलाउन अनुसन्धान चलिरहेको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार, शहरको मध्यमा रहेको हेउमार्क्टस्थित मिडनाइट हुक्का बारमा आठदेखि नौ गोली प्रहार गरिएको थियो ।
घटनास्थलमा कालो गाडी गइरहेको थियो । त्यसको केही समयपछि अर्को हुक्का बार एरिना बार यान्ड क्याफेमा पनि गोली चलेको आवाज सुनिएको थियो ।