
डागमार टर्नर नामक संगीतकारले आफ्नो मस्तिष्कको शल्यक्रिया गराउने क्रममा भायोलिन बजाएकी छन् । शल्यक्रिया लन्डनस्थित किंग्स कलेज हस्पिटलमा भएको हो ।
चिकित्सकहरूले नै ५३ वर्षीया टर्नरलाई भायोलिन बजाउन लगाएका हुन् । यी व्यावसायिक भायोलिनिस्टको मस्तिष्कमा रहेको ट्युमर निकालेपछि उनको सांगीतिक क्षमता नगुमोस् भनी भायोलिन बजाउन लगाइएको हो ।
यो ट्युमर दाहिनेतिरको फ्रन्टल लोबमा छ र उनको देब्रे हातका गतिविधिलाई सञ्चालन गर्न जिम्मेवार मस्तिष्कीय क्षेत्र नजिक त्यो ट्युमर थियो ।
‘भायोलिन मेरो प्यासन हो । म १० वर्षको हुँदादेखि भायोलिन बजाउँदै आइरहेकी छु,’ टर्नरले मंगलवार एक प्रेस वक्तव्यमा भनेकी थिइन् । ‘मैले भायोलिन बजाउने क्षमता गुमाउने हुँ कि भन्ने सोचले चिन्ता दिएको थियो ।’
न्युरोसर्जन डा कीऊमार्स आशकानले यसको सिर्जनात्मक समाधान खोजे ।
शल्यक्रियाअघि स्वास्थ्यविद्हरूको एक टोलीले टर्नरको मस्तिष्कलाई दुई घन्टासम्म म्यापिङ गरेर उनले भायोलिन बजाउँदा कुन क्षेत्र सक्रिय रहे भनी हेरे ।
चिकित्सकहरूले ट्युमरको ९० प्रतिशतभन्दा बढी भाग हटाएका थिए र त्यसक्रममा टर्नरको गति क्षमतालाई क्षति पुग्न दिएनन् । शल्यक्रियाको तीन दिनपछि उनी घर गइन् ।
सीएनएनबाट