२४ जेठ २०८३, आइतबार

सिस्नुको चाउचाउ खाने हो ? कर्णाली एक्स्पोमा आउनुस्

फागुन ९, २०७६
सिस्नुको चाउचाउ खाने हो ? कर्णाली एक्स्पोमा आउनुस्

कर्णाली प्रदेशको राजधानीमा फागुन ६ गतेदेखि चलिरहेको कर्णाली एक्स्पोमा सिस्नुको चाउचाउ बिक्री भइरहेको छ । स्टल नम्बर ५७ मा हुम्लाको सिमिकोट गाउँपालिकाको सुवर्ण सिमिकोट खाद्य उद्योगले उत्पादन गरेको चाउचाउ बिक्रीमा राखिएको हो ।

एक सय रुपैयाँ मूल्य तोकिएको उक्त चाउचाउ सुर्खेतमा पहिलो पटक बिक्रीका लागि ल्याएको युवा उद्यमी उपेन्द्र रोकायाले जानकारी दिए । दश वर्षअघि सिमिकोटमा कर्णालीका अर्गानिक उत्पादनलाई खाद्य वस्तुमा रुपान्तरण गर्ने र बिक्री वितरण गर्ने उदेश्यका साथ खोलिएको उक्त उद्योगमा विभिन्न खाद्य परिकार उत्पादन भइरहेको रोकायाले बताए ।

सिस्नुको पाउडर, विस्कुट, चाउचाउ पनि बनाएर बिक्री गरेका छौं,’ उनले भने, ‘अन्य चाउचाउ जस्तै पकाएर यसलाई खान सकिन्छ । अर्गानिक भएका कारण यसको मूल्य एक सय रुपैयाँ प्रतिप्याकेट राखेका छौं ।’

विज्ञान संकाय लिएर आइएस्सी अध्ययन गरेका उपेन्द्र अहिले २९ वर्षका भएका छन् । वार्षिक रुपमा उद्योगले ६० लाख भन्दा बढीको कारोवार गर्दै आइरहेको बताउने रोकायाले कम्तिमा पनि १६ लाख जति शुद्ध मुनाफा गरिरहेको बताए ।

‘विभिन्न जडिबुटीबाट गुणस्तरीय तेल पनि उत्पादन गर्दै आइरहेका छौं । हुम्लामा पाँच सय रुपैयाँ लिटरका दरले बिक्री गर्छौं भने काठमाडौंमा एक हजार रुपैंया पर्न जान्छ । चुली, ढोटेलोजस्ता वनस्पतिबाट तेल उत्पादन गर्दै आइरहेका छौं,’ उनले भने, ‘यसका अलावा हामीले उद्योगबाट फापरको बिस्कुट, पिठो, हर्लिक्स, जौको हर्लिक्स, पोषण पिठो, पोषण सातु, मिठो फापरको केक, कुकिज, चिनोको बिस्कुट, पोषण सातुजस्ता परिकारहरुको उत्पादन गर्दै आइरहेका छौं ।’

सडक यातायातको सहज पहुँच नभएको र जहाजबाट बाहिर पठाउनुपर्ने भएका कारण हुम्लामा उत्पादित खाद्य व\स्तु महँगो लाग्ने गरेको उनको भनाइ छ ।

‘मैले पाँच जनालाई पूर्ण रोजगारी दिएको छु । केही व्यक्ति ज्यालादारीमा पनि कहिलेकाहीं काममा लगाउने गरेको छु । पोखरा र काठमाडौं हाम्रो मुख्य बजार हो । जहाजबाट लैजाँदा केहि महँगो पर्ने गरेतापनि पूर्ण रुपमा अर्गानिक उत्पादन भएका कारण बजारमा माग बढिरहेको छ, तरपनि भनेजति पुर्याउन सकिएको छैन,’ उनले भने ।

उनले व्यापार राम्रै भइरहेको बताए । उनले भने, ‘सरकारले अर्गानिक उत्पादनलाई प्राथमिकता दिने भनेको सुनेको थिएँ । लगानी बढाउन सकेको खण्डमा यसलाई थप गुणस्तरीय बनाउन सकिन्थ्यो ।’

प्रदेश सरकारले हालसम्म दिएका अधिकांश अनुदान कार्यकर्तामुखी भएको आरोप उनले लगाए । ‘काम गर्ने र खानेलाई अनुदान दिइँदैन,’ उनले भने, ‘१० वर्ष देखि मैले बैंकबाट चर्को ब्याजमा ऋण गरेर उद्योग चलाइरहेको छु । टाठा बाठा र पहुँचवालाले मात्रै अनुदान लिएका छन् । उनीहरुले न त उत्पादन गरेका छन् न त अन्य कुनै सहि स्थानमा लगानी गरेका छन् ।’

उनले हालसम्म आफूजस्ता हुम्लाका उद्यमीले सरकारबाट एक सुको पनि सहयोग नपाएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्