२५ जेठ २०८३, सोमबार

बालविवाह र दाइजोविरुद्ध प्रहरी अभियान

फागुन १०, २०७६
बालविवाह र दाइजोविरुद्ध प्रहरी अभियान
प्रतिकात्मक तस्वीर

सिरहाको औरही गाउँपालिका–५ निवासी रामसेवक दासको घरमा आउने जन्तीलाई शुक्रवार साँझ भव्य स्वागत गर्ने तयारी हुँदै थियो, घरका मानिसहरू कोही टेण्ट लगाउनमा व्यस्त थिए भने कोही पाहुनाको स्वागतमा जुटेका थिए । 

त्यो उत्साहको माहौल एकैछिनमा शान्त बन्यो, जब प्रहरी टोली त्यहाँ पुग्यो । बेहुला बेहुलीको विवाह गर्ने उमेर २० वर्ष नपुगेको भन्दै जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले बेहुलीको घरमा पुगेर विवाह रोकाएपछि वैवाहिक माहौल एकैछिनमा शान्त बन्न पुग्यो ।

दासको १७ वर्षीया छोरी पूजाको फागुन ९ गतेको रात्रि लगनमा धनुषाको शहीदनगर नगरपालिकाको यदुकुहा निवासी शिवशंकर दासको १८ वर्षीय छोरा जीतकुमार दाससँग तय भएको थियो ।

बालविवाह हुन लागेको स्थानीयबाट सूचना पाएपछि खटिएको प्रहरी टोलीले केटा र केटीको उमेर २० वर्ष नपुगी विवाह गर्नु हुन्न, त्यस्तो विवाह कानूनीरुपमा स्वतः बदर हुन्छ र कानूनीरुपमा दण्डित समेत हुने कुरा जानकारी गराउँदै विवाह रोकाएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बिनोद घिमिरेले बताए ।

यसअघि गत माघ २७ गते इलाका प्रहरी कार्यालय मिर्चैयाले सिरहाको कर्जन्हा नरपालिका–६ वेतहाका रिझन मुखियाकी १५ वर्षीया छोरी रन्जुको हुन लागेको विवाह पनि रोकेको थियो । रन्जुको विवाह पनि धनुषाको शहीदनगर नगरपालिकाको यदुकुहाका अजय मुखियासँग हुन लागेको थियो ।

त्यही दिन अर्थात् माघ २७ गते नै विवाहका तयारी भइरहेको सिरहाको मिर्चैया नगरपालिका–१ का श्रीराम कापरको छोरी संगीता कापरको विवाहलाई रोकेको सिरहा प्रहरीले त्यही दिन सिरहाको कल्याणपुर नगरपालिका–१ का राम नरेश माझीको छोरी गनिता माझीको विवाहसमेत रोकेका थिए ।

पूजा, रन्जु र संगीता मात्र होइन, सिरहामा हुन लागेको बालविवाह रोकाउन प्रहरीले अभियान नै चलाएको छ । प्रहरीले बालविवाह रोकाउँदा कतिपय अभिभावकले त्यसलाई सहजरुपमै लिने गरिएपनि अधिकांशले निराश र चिन्ता नै व्यक्त गर्ने गरेका छन् ।

‘राम्रो केटा र घर हेरे छोरीलाई विवाह तय गरेको थिए,’ औरही गाउँपालिका–५ का रामसेवक दासले भने, ‘घरमा पाहुना आइसकेको र जन्तीको स्वागतका लागि नास्ता र खाना पकाइसकेको अवस्थामा प्रहरीले एक्कासी आएर विवाह रोकाएपछि हामी समस्यामा परेका छौं ।’

कानूनी कुराको ज्ञान नभएकाले ठुलो रकम खर्चिएर विवाहको तयारी गरे, अन्तिममा जन्ती आउनै लागेका बेला विवाह रोकिएकाले आपूmहरू अप्ठ्यारोमा परेको रामसेवकको भनाइ थियो । 

‘बालविवाहबारे समयमै ज्ञान भएको भए छोरीको विवाह २० वर्ष नपूगी गर्ने थिएनौं,’ रामसेवकले भने, ‘विवाहको तयारी अन्तिम चरणमा पुगेका बेला रोकिँदा साहुसँग लिएको ऋण खर्च भइसक्यो, विवाह पनि भएन ।’

रन्जुकी आमा सुनितादेवी मुखियाले आफूलाई छोरीको विवाह गर्न २० वर्ष पुग्नैपर्छ भन्ने विषयमा जानकारी नभएको बताए । उनले भने, ‘हामीलाई विवाहको लागि २० वर्ष पुग्नुपर्छ भन्ने थाहा थिएन, राम्रो घर पाएको र दहेजपनि नलिने भएपछि छोरीको विवाह गर्न लागेका थियौं ।’

रामसेवक र सुनिताले भने जस्तै कतिपय अभिभावकमा बालविवाह कानूनी अपराध हो, त्यो बालविवाह गरिए कानूनी दण्ड र सजाय भोग्नुपर्छ भन्ने कुराको ज्ञान नभएकाले छोरा छोरीको उमेर नपुग्नै विवाह गराइरहेका छन् भने कतिपयले कानूनी कुरा बुझेर पनि दाइजोको लोभ, राम्रो केटा र घर पाएपछि विवाह गरिहालौं भन्ने गलत सोचका कारण बालविवाह गराइरहेको बुद्धिजीवीको भनाइ छ । 

‘नेपालको कानूनले २० वर्षभन्दा कम उमेरमा विवाह गर्न बन्देज गरेको भएपनि अझै बालविवाह हुँदै आएको छ,’ बुद्धिजीवी तथा दलित विकास मञ्च कल्याणपुर सिरहाका कार्यक्रम संयोजक सरिता महराले भनिन्, ‘उमेर पुगेपछि छोरीलाई भने जस्तो केटा नपाइने, केटा पाइहाले पनि धेरै दहेज दिनुपर्ने त्रासका कारण सानै उमेरमा विवाह गर्ने प्रवृत्ति नै बनेको छ ।’

कोही जानी जानी र कोही नजाने छोराको विवाह गराउने प्रवृत्ति ह्वातै बढेपछि सिरहा प्रहरीले बालविवाह रोक्नका लागि अभियान नै चलाइएको छ । अभिभावकलाई बालविवाह कानूनीरुपमा अपराध भएको र बालविवाह गराए कानूनी कारबाही हुने विषयमा जनचेतनामूलक कार्यक्रमसँगै बालविवाह रोक्ने अभियान चलाएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले बताए ।

‘सामुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत गाउँगाउँमा बालविवाहबारे अन्तरक्रियासँगै बालविवाह भइरहेको सूचना पाए तत्कालै रोकाउने गरेका छौं,’ उनले भने । यसबाट विगतको भन्दा बालविवाहमा कमी आउने उनको विश्वास छ ।

विगत १ महिनादेखि शुरू गरिएको बालविवाह विरुद्धको अभियानका क्रममा अहिलेसम्म सिरहामा हुन लागेका ६ वटा बालविवाह रोकाइएको प्रहरी नायब उपरीक्षक घिमिरेको भनाइ छ । ‘विवाह गर्न केटाकेटीको उमेर २० वर्ष पुगेको हुनुपर्ने कानूनी व्यवस्था रहेपनि समाजमा अझै बालविवाह भइरहेको छ,’ अधिवक्ता डोमन साहले भने, ‘बालविवाह गर्ने, गराउने र विवाह सहभागी हुने सबैलाई कानूनीरुपमा दण्डित गर्ने व्यवस्था छ, तर जनचेतना नपुगेर बालविवाह भइरहेका छन् ।’ 

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद–११ को दफा १७३ को १, २ र ३ मा बालविवाह गर्नु गराउनु हुँदैन, गराएमा त्यस्तो विवाह स्वतः बदर हुने र बालविवाहको कसुर गर्ने गराउने व्यक्तिलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था रहेको अधिवक्ता साहको भनाइ छ । – राजु विश्वकर्मा/रासस

salt training

कमेन्ट गर्नुहोस्