
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस एजेण्डा नपाएर जनतामा भ्रम छर्न कुखुराको चल्ला जस्तै दगुरिरहेको आरोप लगाएका छन् ।
उनले सरकारले राम्रो काम गरिरहँदा प्रतिपक्षी कांग्रेस हतास मनस्थितिमा देखिएको दाबी गरे ।
गण्डकी प्रदेश स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सोमवार कास्कीको पोखरामा सम्बोधन गर्दै ओलीले कांग्रेस एजेण्डा नपाएर छट्पटाइरहेको आरोप लगाएका हुन् । ‘एउटा चल्लाले फट्याङग्रा टिपेर दगुर्छ, त्यो देखेर अरु चल्ला पनि पछि दगुर्छन्, सरकारको विरोधीको ताल कुखुराको चल्ला जस्तै छ,’ ओलीले भने, ‘गैरविषयलाई विषय बनाउने प्रतिपक्षसँग एजेण्डा भएन । सरकारले संसदमा विधेयक पेश गर्छ, छलफल गर्ने बुँदा प्रतिपक्षसँग छैन, जनतामा भ्रम छर्न, सरकारलाई बद्नाम गर्न लाग्छ ।’
उनले सरकार हौसिएर नभइ होसमा काम गरिरहेको बताए । ‘हामी असफल भए उग्रवामपन्थी र उग्रदक्षिणपन्थीले देश कब्जा गर्छन्,’ ओलीले भने । कार्यक्रमलाई नेकपा वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतले सम्बोधन गरेका थिए ।