
यौन दुर्व्यवहारको मुद्दामा जिल्ला अदालत काठमाडौंले फागुन ५ गते निर्दाेष ठहर गरेपछि पूर्व सभामुख कृष्णबहादुर महरा पहिलो पटक मतदातालाई भेट्न दाङ पुगेका छन् ।
दाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रहेका महरालाई सोमवार भव्य स्वागत भएको छ ।
सांसदका रुपमा संसद भवन जाने बाटो खुलेपनि महरा शुरूमा मतदातालाई भेट्ने भन्दै दाङ पुगेका हुन् । यौन दुर्व्यवहारको आरोप लागेपछि महराले सभामुख पदबाट राजीनामा दिनुपरेको थियो ।
दाङको भालुवाङमा मतदातालाई सम्बोधन गर्दै महराले जीवनभर दंगाली जनताको हितमा खटिने बताएका छन् । ‘सम्मानित अदालतले न्याय दिएको छ । अब जीवनभर दंगाली जनताको हितका लागि खट्ने छु,’ उनले स्वागत कार्यक्रममा भने ।
महराको स्वागत कार्यक्रममा सांसद गंगा चौधरी सत्गौवा समेत सहभागी छन् । महराले निर्वाचन क्षेत्रका विभिन्न ठाउँमा मतदाता भेटघाट कार्यक्रम राखेका छन् ।