१७ असार २०८३, बुधबार

कोरोनाका कारण अन्यौलमा कोरिया रोजगार

फागुन १२, २०७६
कोरोनाका कारण अन्यौलमा कोरिया रोजगार
File Photo

नेपाली युवाको आकर्षक रोजगार गन्तव्यका रुपमा रहेको दक्षिण कोरिया अहिले कोरोना भाइरसको सङ्क्रमणबाट आक्रान्त बनेको छ।

दक्षिण कोरियाली सञ्चारमाध्यममा प्रकाशित समाचारमा जनाइएअनुसार सोमबारसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ८ सय नाघिसकेको छ भने ८ जनाको मृत्यु भइसकेको छ। सीमित सङ्ख्यामा सङ्क्रमण देखिएकामा केही दिनदेखि भाइरस फैलँदो अवस्थामा छ। 

बढ्दो सङ्क्रमणसँगै विभिन्न पेशा तथा व्यवसायमा रहेका नेपालीमा ठूलो सन्त्रास फैलिएको छ। अहिले करिब ४० हजारको हाराहारीमा नेपाली कोरियाको विभिन्न क्षेत्रमा काम गर्दै आएका छन्।

रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत भाषा परीक्षा उत्तीर्ण गरेर कोरिया जाने तयारीमा रहेका युवामा थप अन्योल सिर्जना गरेको छ। कामको सिलसिलामा कोरियामा रहेका नेपालीका अभिभावक पनि चिन्तामा देखिन्छन्। 

इपिएस प्रणालीबाट कोरिया पठाउने क्रममा केही सुस्तता आएको छ। कोरिया सरकारले पनि मुलुकमा सङ्क्रमण फैलिएपछि नेपाललगायत विभन्न स्रोत मुलुकबाट कामदार ल्याउने प्रक्रिया तत्कालका लागि रोक्न चाहेको बताइएको छ। वैदेशिक रोजगार विभागअन्तर्गतको इपिएस कोरिया शाखाले नेपाल ‘पर्ख र हेर’को रणनीतिमा रहेको जनाएको छ।

‘कोरियामा कोरोनाको सङ्क्रमण फैलिएको कुरालाई हामीले गम्भीरताका साथ लिएका छौँ,’ इपिएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालले भने, ‘तत्कालका लागि कोरिया जाने क्रम केही कम भएको छ, एक÷दुई दिनमा छलफल गरेर थप निष्कर्षमा पुग्छौँ ।’

इपिएस प्रणालीबाट कोरिया पुगेका नेपालीको सङ्ख्या ६५ हजार बढी रहेको छ। भाषा परीक्षा उत्तीर्ण गरेर कोरिया गएकामध्ये अहिले पनि करिब ४० हजार युवा विभिन्न क्षेत्रमा काम गर्दै आएका छन्। विभिन्न पेशा, व्यवसाय तथा अध्ययनका क्रममा कोरियामा रहेका नेपालीको सङ्ख्या पनि उच्च रहेको छ। हालसम्म कोरियामा कुनै पनि नेपालीमा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छैन। 

लामो समयदेखि कोरियामा रहेका पत्रकार प्रकाश पोखरेलले अहिले नै आत्तिहाल्नुपर्ने अवस्था नआएको बताए। –अशोक घिमिरे/रासस

salt training

कमेन्ट गर्नुहोस्