
मेक्सिकोको नाउकाल्पान शहरमा आइतवार अपराह्न भएको सडक दुर्घटनामा गाडी राजमार्गको पर्खालमा ठोकिएको र चालक गाडीबाट फुत्किएर माथि उडेर सडकमा पछारिएको भिडियो सार्वजनिक भएको छ ।
एलन माउरिसियो हुएर्ता कोर्तेस नामक ती चालकले माज्दा गाडी चलाइरहेका थिए । उनले नियन्त्रण गुमाएपछि पक्की डिभाइडरमा गाडी ठोक्न पुगेका थिए ।
सर्भेलान्स क्यामरामा कार डिभाइडरको छेउमा ठोकिएको र हावामा उडेको अनि कोर्तेस पनि गाडीबाट सँगै उडेको देखिन्छ ।
उनको गाडी राजमार्गमा गुडिरहेका अन्य गाडीसँग ठोकिएन ।
भिडियोमा कोर्तेसको शरीर सडकमा पछारिएको र दुईवटा गाडीले झण्डैले किचेको अनि उनको क्षतिग्रस्त गाडी राजमार्गको मध्यमा रहेको देखिन्छ ।
बाटोमा कैयौं मानिस कोर्तेस भएतिर दौडिए अनि प्यारामेडिकहरू आएर उनलाई दुर्घटनाको पाँच मिनेटपछि स्ट्रेचरमा राखेर लगेका थिए ।
मेक्सिकोको पत्रिका एल युनिभर्सलका अनुसार, डाक्टर एडुआर्डो भास्केज सेलिसले कोर्तेसलाई टाउकोमा र पेटमा चोटपटक लागेको बताए । दुर्घटना हुँदा उनले सीट बेल्ट नलगाएको चिकित्सकको भनाइ छ ।
उनलाई आईसीयूमा राखिएको थियो तर पछि गएर मृत घोषणा गरिएको थियो ।