
तनहुँको म्याग्दे गाउँपालिकाले मगर दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गाउँपालिकाले ३८ औं मगर दिवसको अवसरमा फागुन १५ गते बिहीवार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
मगर समुदायको बाक्लो उपस्थिति रहेको गाउँपालिकामा मंगलवारको निर्णयानुसार सार्वजनिक बिदा दिइएको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले जानकारी दिइन् ।
सार्वजनिक बिदाका दिन गाउँपालिकाभित्रका सार्वजनिक निकाय, संघसंस्था, शिक्षण संस्था बन्द रहनेछन् ।
विक्रम संवत् २०६८ सालको जनसंख्याअनुसार गाउँपालिकामा सबैभन्दा बढी मगर समुदायको बसोबास रहेको छ । कूल २२ हजार ५०२ मध्ये यस गाउँपालिकामा मगर समुदायको जनंख्या ३१.८९ प्रतिशत अर्थात् ७ हजार १७५ रहेको छ ।