
विश्व स्वास्थ्य संगठनले कोभिड–१९ नाम दिएको कोरोना भाइरसको संक्रमण विश्वको टाउको दुखाइएको विषय बनेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार यो भाइरसको संक्रमण ५६ देशमा फैलिएको छ।
सुरुमा चीनमा मात्र सीमित यो संक्रमण दक्षिण कोरिया, इरान हुँदै कतारमा पनि फैलिएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार कोरोना भाइरस मध्यपूर्वी मुलुक कतारमा समेत फैलिएको छ। इरानबाट फर्काइएका व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो।
कतारको समाचार संस्था क्यूएनएले जनाएअनुसार ३६ वर्षे व्यक्तिमा संक्रमण देखिएको र उनको अस्पतालमा उपचार भइरहेको छ।
इरानबाट आपतकालीन उद्धार गरी स्वदेश फर्काएर क्वारेन्टाइनमा राखिएका व्यक्तिमा कोरोनाको संक्रमण देखा परेको हो। कोरोनाका कारण इरानमा कम्तीमा २ सय १० जनाले ज्यान गुमाएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन्।
अधिकांश पीडित राजधानी तेहरानका र शुरूमा भाइरस देखिएको कुम सहरका रहेका छन्। कतार नेपाली कामदारको गन्तव्य मुलुक हो। त्यहाँ करिब ५ लाख नेपाली वैदेशिक रोजगारीमा रहेको बताइन्छ।
विश्वमा नै फैलिन थालेकोले यस अवस्थालाई विश्व स्वास्थ्य संगठनले नै चिन्तापूर्ण अवस्थाका रुपमा लिएको जनाएको छ ।
यसको संक्रमण विश्वका विभिन्न मुलुकमा फैलिने क्रम तीव्र हुन थालेपछि यो सङ्क्रमण फैलिएका देशबाट आफ्ना देशमा प्रवेश गर्ने तथा फर्किने नागरिकलाई विश्वका सबै देशले विमानास्थलहरुमा नै व्यापक मात्रामा निगरानी बढाएका छन्।