अमेरिकामा रहेको कार्ड पेमेन्ट कम्पनीका हाकिम ड्यान प्रिस आफ्नो तलब घटाउने निर्णयमा कायम छन् । उनले प्रत्येक स्टाफलाई वर्षमा कम्तीमा ८० लाख रुपैयाँ तलब पनि दिइरहेका छन् ।
सियाटलमा ग्राभिटी पेमेन्ट कम्पनी चलाउने प्रिसले किशोरवयदेखि नै कम्पनी शुरू गरेका थिए । उनको कम्पनीले राम्रो कारोबार पनि गरिरहेको छ ।
पछि उनले थाहा पाए, उनका एक निकटवर्तीले दुई शिफ्ट काम गर्दा पनि घर खर्च उठाउन सकिरहेका थिएनन् । अनि उनले आफ्नो करोडौंको तलबको बारेमा सोचे । तलबमा असमानता कम गर्नका लागि उनले आफ्नो तलब घटाउने र स्टाफको तलब बढाउने निर्णय लिए ।
ग्राभिटी पेमेन्ट्स चलाउने प्रिसले सन् २०१५ मै सबै १२० स्टाफलाई वार्षिक ८० लाख तलब दिने निर्णय लिएका थिए । अनि उनी आफू वर्षको लगभग १३ करोड रुपैयाँ कमाउँथे र उनले २ करोड मात्र लिने निर्णय गरे । अहिलेसम्म पनि उनी त्यसमा कायम छन् र आफ्नो तलब न्यूनतम नै राखेका छन् ।
अमेरिकामा आय असमानताविरुद्ध लड्ने प्रमुख व्यक्ति बनेका प्रिसले भने, ‘मानिसहरूलाई कि त कम तलब दिइन्छ, कि त कामबाट निकालिन्छ । कर्मचारीको मेहनतको फाइदा उठाएर हाकिमहरू विलासी भवनमा सुनको कुर्सीमा बस्छन् । हाम्रो समाज लोभलालचलाई प्रशंसा गर्छ र त्यसलाई दुरुत्साहन गर्छ ।’