२२ जेठ २०८३, शुक्रबार

दुर्भाग्य ! खराब बोली र आचरणले प्रहरी बदनाम

फागुन १९, २०७६
दुर्भाग्य ! खराब बोली र आचरणले प्रहरी बदनाम
फाइल फोटो

सर्वसाधारण नागरिक तथा समुदायसँग प्रत्यक्ष सम्बन्ध राख्ने नेपाल प्रहरीका कतिपय जिम्मेवार पदाधिकारीहरू बोली, व्यवहार र आचरणका कारण बारम्बार विवादमा आउने गरेका छन् ।

‘प्रहरी मेरो साथी’ भन्ने नारा लिएको प्रहरीसँग सर्वसाधारण नागरिक यसको जवाफको खोजीमा छन् ।

बिहीवार ललितपुरको भैंसेपाटीमा प्रहरी निरीक्षक तहको जिम्मेवार अधिकृतले काखमा नाबालक बोकेकी एक महिलामाथि लाठी बर्साएको घटनाले सर्वसाधारणलाई यसको जवाफ खोज्न बाध्य पारेको हो ।

‘नेपाल प्रहरी र नागरिक समुदाय एकअर्काका परिपूरकजस्तै हुन्,’ ठमेलका समाजसेवी अर्जुन पुरी भन्छन्, ‘प्रहरी मेरो साथी’ भन्ने तर व्यवहार शत्रुको जस्तो गर्ने कार्य कदापि राम्रो होइन । प्रहरी पेसाप्रति जिम्मेवार र कानुन कार्यान्वयनमा दृढ भए पुग्छ ।’

सुन्दर नाराभित्र क्रुर व्यवहार

नेपाल प्रहरीले नागरिकको मन जित्न ‘प्रहरी मेरो साथी’, ‘मुस्कानसहितको प्रहरी’ र ‘जिब्रोको गरिमा मीठो बोलीमा’ नारा लगाउँदै आएको छ । यी नारा प्रभावकारी नभएपछि गत वर्षबाट गाउँटोलसम्म समुदाय–प्रहरी साझेदारी अभियान नै सञ्चालनमा आएको छ ।

अभियानले प्रहरी कर्मचारीलाई मात्र नभई प्रत्येक नागरिकलाई शान्तिसुरक्षा र अपराध नियन्त्रणमा जिम्मेवार बनाउनुका साथै प्रहरीसँग सहकार्य गर्न प्रोत्साहन दिँदै आएको छ । पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल ‘प्रहरी मेरो साथी’ यही अभियानको महत्त्वपूर्ण नारा भएको बताउँछन् ।

तर, दुर्भाग्य ! यो नारालाई मुलुकको केन्द्रीय राजधानी काठमाडौँमा कार्यरत प्रहरीका उच्च अधिकृतहरूले नै व्यवहारमा उतार्न सकेनन् । यसअघि समाचार सङ्कलनका क्रममा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पुगेका एक पत्रकारमाथि यस्तै दुव्र्यवहार गरिएको थियो ।

पूर्व महानिरीक्षक खनालले भने, ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रमको लक्ष्य समाजमा लुकेर बसेका अपराध बाहिर ल्याउन तथा अपराध हुन नदिन नागरिक र प्रहरीबीचको सम्बन्ध सुमधुर र विश्वसनीय बनाउनु नै हो । यसमा प्रहरीको आचरण र बोली व्यवहारले महत्त्वपूर्ण अर्थ राख्छ ।’ उनका अनुसार बल प्रयोग गर्ने क्रममा हुन सक्ने मानव अधिकार उल्लंघन तथा अन्य क्षति रोक्न माइकिङ गरी तर्साउनेदेखि पानीको फोहोरा हान्ने, लाठी चार्ज गर्ने र नियन्त्रणभन्दा बाहिर गएको अवस्थामा ‘हवाई फायर’ गरी भीड तितरबितर गर्नु प्रहरीको सुरक्षा रणनीति नै हो ।

रूखो बोली व्यक्तिगत कमजोरी

आवेशमा आएर जथाभावी गालीगलौज, अन्धाधुन्द लाठी प्रहार, नियन्त्रणमा लिई कुटपिट गर्ने कार्य प्रहरीको जिम्मेवारीभित्र नपर्ने उनी बताउँछन् । यो नितान्त व्यक्तिगत कमजोरी हो । कतिपय प्रहरी अधिकारीमा सर्वसाधारणलाई सम्बोधन गर्ने सुरक्षा रणनीति (कला) नहुँदा यस्ता घटना बारम्बार दोहोरिने गरेका छन् ।

नेपाल प्रहरीको आधारभूत तालिम (प्रशिक्षण)मा ‘जसले तालिममा पसिना बगाउँछ, उसले कर्तव्य पालनका क्रममा रगत जोगाउँछ’ सन्देश उल्लेख गरिएको हुन्छ । तालिममा पसिना बगाउन नसक्ने र पेसागत रूपमा इमानदार नभएका प्रहरी कर्मचारीबाट यस्ता गल्ती हुने गरेको स्वयं प्रहरी अधिकारीहरू बताउँछन् ।

प्रहरी कर्मचारी बर्दीको नागरिक हो भने आमनागरिक बर्दी्बिनाको प्रहरी हो भन्ने सन्देशले पनि प्रहरी र नागरिकबीचको सम्बन्ध स्पष्ट पारेको छ । प्रहरी जवानको तुलनामा जिम्मेवार व्यक्ति तथा इन्चार्ज (कार्यालय प्रमुख)को बोली व्यवहार रूखो, टर्रो र क्षुद्र हुने गरेको आरोप सर्वसाधारणको छ । नेपाल प्रहरीसम्बन्धी ऐन कानुनले प्रहरीको बोली व्यवहार, आचरण र स्वभाव नागरिक सेवामैत्री हुनुपर्ने स्पष्ट पारेको छ । कानुन व्यवसायी विक्रम कुँवर प्रहरी कर्मचारीले आन्तरिक पीडा तथा कमीकमजोरी आमनागरिकमाथि पोख्ने गरेको आरोप लगाउँछन् ।

तथानाम गाली र धम्की

नेपाल प्रहरी संगठनभित्र माथिल्लो तहको हाकिम (अधिकृत)ले तल्लो तहका कर्मचारीलाई ‘मा’ कल्पेर गाली गर्ने गरेको पाइएको छ ।

यतिसम्म कि हाकिमले मुखमा आए जतिको गाली गर्दा जवानहरू जागिर छोड्न बाध्य हुने गरेका छन् । नेपाल मर्चेन्ट बैंक (एनएमबी) कान्तिपथ शाखामा सुरक्षागार्डका रूपमा कार्यरत एक पूर्व प्रहरी हवल्दारले हाकिमको गाली सहन नसकेर राजीनामा दिएको गुनासो पोखे ।

आचरण सुधारमा चुनौती

सुरक्षा निकायमा तल्लो दर्जाका प्रहरी कर्मचारीलाई छाडा शब्द प्रयोग गरी गालीगलौज गर्ने समस्या चुनौतीका रूपमा देखिएको छ । कहिलेकाहीँ प्रहरी अधिकारीले सोही बोली व्यवहार सर्वसाधार णसँग गर्दा विवादमा आउने गर्छन् ।

केन्द्रीय प्रहरी प्रवक्ता शैलेश थापा ‘पब्लिक’ले समेत प्रहरीलाई सहयोगी र साथीका रूपमा नभई उल्टै शत्रुको जस्तो अभद्र व्यवहार र तुच्छ बोली प्रयोग गर्दा समस्या उत्पन्न हुने गरेको बताउँछन् । प्रहरी अन्ततः जनताको शान्तिसुरक्षा र सेवाका लागि हो, कसैले बुझ्ने प्रयास नै गर्दैनन् ।

उनी भन्छन्, ‘एउटा व्यक्तिको कमीकजोरीलाई देखाएर सिङ्गो प्रहरी संगठनको बदनाम गर्नु हुँदैन । खराब आचरण भएका प्रहरी कर्मचारीलाई कारबाही पनि भएका छन् । आफैं गल्ती गर्ने अनि कानुनी कार बाहीका लागि प्रहरीले एक्सन लिँदा जागिर नै खाइदिन्छु भन्नेहरू पनि छन् । प्रहरी पेसागत इमान्दार, कानुन कार्यान्वयनमा सशक्त र बोली, व्यवहारमा नम्र हुनुपर्ने संगठनको आन्तरिक रणनीति पनि हो । आजको गोरखापत्र दैनिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्