०७ असार २०८३, आइतबार

लादेन लुकेको ठाउँ पत्ता लगाउने चिकित्सकले जेलभित्र थाले भोक हडताल

फागुन १९, २०७६
लादेन लुकेको ठाउँ पत्ता लगाउने चिकित्सकले जेलभित्र थाले भोक हडताल

अमेरिकाको जासुसी संस्था सीआईएलाई ओसामा बिन लादेन लुकेको ठाउँको जानकारी दिने एक पाकिस्तानी चिकित्सकले आफू बसेको कारागार कक्षमा भोक हडताल थालेको उनका वकिल र परिवारले सोमवार बताएका छन् । 

शकिल अफ्रिदी वर्षौंदेखि जेलमा छन् । उनको झूटो खोप कार्यक्रमबाट अमेरिकी एजेन्टहरूले अलकायदाका नेता लादेनलाई सन् २०११ मा पत्ता लगाएर मारेका थिए । 

‘उनी र उनको परिवारविरुद्ध गरिएका अन्याय र अमानवीय गतिविधिको विरोध गर्नका लागि उनी भोक हडतालमा छन्, उनका भाइ जमिल अफ्रिदीले भने । 

उनका वकिल कमर नदीमले पनि भोक हडतालको पुष्टि गरे । 

आतंकवादीहरूसँग सम्बन्ध राखेको कसूर ठहर गरेर सन् २०१२ को मे महिनामा शकिललाई ३३ वर्षको कारावास सजाय दिइएको थियो । 

पछि उनको सजाय घटाएर २३ वर्षमा झारियो । 

केही अमेरिकी सांसदहरूले उनलाई लादेन खोज्न मद्दत गरेकोमा प्रतिशोध लिनका लागि जेल हालिएको बताए । 

सन् २०११ मा पाकिस्तानी भूमिमा ओसामा बिन लादेनलाई अमेरिकी सेनाले मारेपछि पाकिस्तान र त्यहाँको शक्तिशाली सेनाले निकै बेइज्जती सहनुपरेको थियो । 

वर्षौंसम्म शकिल अफ्रिदीलाई वकिलमा पहुँच दिइएन अनि उनको पुनरावेदनको सुनुवाएलाई टार्ने काम भइरह्यो । 

उनको परिवारले समेत आफूहरूलाई तारो बनाइएको र अधिकारीहरूले दुःख दिएको बताए । 

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रपति निर्वाचनका बेलामा शकिल अफ्रिदीलाई रिहा गर्न पाकिस्तानलाई दबाब दिने प्रतिज्ञा गरेका थिए तर राष्ट्रपति बनेपछि उनले यस विषयमा कुनै कुरा उठाएका छैनन् ।

कमेन्ट गर्नुहोस्