
कोरोना भाइरसविरुद्ध सचेतना जगाउन पोखरामा सोमबार साँझ सचेतना र्याली प्रदर्शन गरिएको छ।
पोखरा पर्यटन परिषद्, नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका र नेपाल चाइना ओभर्सिज एसोसिएसनले यो कार्यक्रम संयुक्त रुपमा गरेका हुन्। कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएकाको सम्झनामा सो अवसरमा मैनबत्ती समेत प्रज्ज्वलन गरिएको थियो।
र्यालीमा चिनियाँ नागरिक, पर्यटन व्यवसायी, पर्यटक र स्थानीयको सहभागिता थियो। सहभागीले कोरोनाविरुद्ध सचेतना झल्काउने नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
फेवाताल किनार हल्लनचोकबाट सुरु भएको र्याली बाराहीचोकसम्म पुगेर कोणसभामा परिणत भएको थियो। कोरोनाविरुद्ध ऐक्यबद्धता जनाउन हस्ताक्षर समेत संकलन गरिएको थियो।
पोखरा पर्यटन परिषद् अध्यक्ष चिरञ्जीवी पोखरेलले संकलित हस्ताक्षर चीनको उहान शहरका मेयरलाई पठाउने कार्यक्रम रहेको जनाए।
कोणसभामा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जीसी, पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेल, पर्यटन व्यवसायी गोपिबहादुर भट्टराई लगायतले कोरोनाविरुद्ध सचेत हुनुपर्नेमा जाेड दिएका थिए।