१५ असार २०८३, सोमबार

हिजो दिनभर : प्रधानमन्त्री ओलीको मिर्गाैला प्रत्यारोपणको तयारी, रोजगारीको श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगित

फागुन २१, २०७६
हिजो दिनभर : प्रधानमन्त्री ओलीको मिर्गाैला प्रत्यारोपणको तयारी, रोजगारीको श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगित

ओलीको मिर्गाैला प्रत्यारोपणको तयारी के छ ? अस्पतालले दियो जानकारी

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैला पुनः प्रत्यारोपणको तयारीबारे त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले औपचारिक जानकारी दिएको छ ।

मंगलवार विज्ञप्ति जारी गर्दै अस्पतालले बुधवार हुने प्रत्यारोपणका लागि तयारी शुरू गरिएको जानकारी दिएको छ ।

अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले प्रेस विज्ञप्ति जारी गर्दै प्रत्यारोपणका लागि आवश्यक औषधि दिन शुरू गरिएको जनाएका छन् ।

विज्ञप्तिमा प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था राम्रो रहेको जानकारी दिइएको छ ।

युवराज खतिवडाको राजीनामा स्वीकृत, अर्थ मन्त्रालय ओलीले नै सम्हाल्ने

अर्थमन्त्री डा. युवराज खतिवडाले दिएको राजीनामा स्वीकृत भएको छ ।

राजीनामा स्वीकृतपछि उनले सम्हाल्दै आएका अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले नै सम्हाल्ने भएका छन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालद्वारा जारी प्रेस विज्ञप्तिमा दुवै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओलीलाई नै तोकिएको जनाइएको छ ।

खतिवडाले अर्थ मन्त्रालयका उच्च अधिकारीहरूलाई भने– 'म भोलिदेखि आउँदिनँ'

राष्ट्रिय सभा सदस्यको पदावधि सकिनै लाग्दा डा. युवराज खतिवडाले अर्थमन्त्री पदबाट राजीनामा दिएका छन् । खतिवडासहित राष्ट्रिय सभाका १९ सांसदको २ वर्षे कार्यकाल आज सकिँदैछ ।

खतिवडा राजीनामा पत्र बोकेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न शिक्षण अस्पताल महाराजगञ्ज पुगेका थिए ।

मन्त्रालयबाट बाहिरिने क्रममा खतिवडाले मन्त्रालयका उच्च अधिकारीहरूलाई आफू भोलिदेखि नआउने बताए ।

'मन्त्रीज्यू अब म भोलिदेखि आउँदिनँ भनेर आफ्नो ब्रिफकेस तथा कागजपत्र बोकेर मन्त्रालयबाट बाहिरिनुभयो,' अर्थमन्त्रालय स्रोतले लोकान्तरसँग भन्यो । 

खतिवडा २०७४ फागुन १४ गते अर्थमन्त्री बनेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई पुनः राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न चाहेपनि पार्टीभित्रको विवादले मनोनयन रोकिएको छ ।

पार्टीले उपाध्यक्ष वामदेव गौतमलाई सिफारिश गर्न अनुरोध गर्ने निर्णय गरेपछि प्रधानमन्त्री ओलीले भने खतिवडाको पक्षमा अडान राखेका थिए ।

सांसद नभएको व्यक्ति पनि ६ महिनासम्म मन्त्री बन्ने पाउने संविधानको प्रावधानअनुसार खतिवडालाई पुनः अर्थमन्त्री नियुक्त गर्ने विषयमा पार्टीभित्र लगभग सहमति नै छ ।

सोही प्रावधान अनुसार खतिवडा पुनः मन्त्री बन्ने चर्चा चलिरहेका बेला उनले उच्च अधिकारीहरूसँग भनेको कुराले अन्योल थपिएको छ ।

सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनित भएर डा. खतिवडा राष्ट्रिय सभा सदस्य बनेका थिए ।

संवैधानिक प्रावधानअनुसार गोलाप्रथाबाट खतिवडालाई २ वर्षे पदावधि परेपछि उनी मंगलवारबाट स्वतः पदमुक्त हुन लागेका छन् ।

राष्ट्रिय सभा सदस्य भएर संघीय संसद सदस्यका हैसियतमा अर्थमन्त्री बनेका खतिवडाको सांसद पदको कार्यकाल सकिँदैछ ।

त्यसअघि नै उनले अर्थमन्त्री पदबाट राजीनामा दिएका हुन् । 

आफ्ना प्रतिनिधिलाई अस्पतालमै पठाएर पूर्वराजा ज्ञानेन्द्रले गरे ओलीलाई स्वास्थ्यलाभको कामना

पूर्वराजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री केपी शर्मा ओ‌लीलाई सफल मिर्गौला प्रत्यारोपण र शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

ज्ञानेन्द्रले आफ्ना पूर्व प्रमुख सचिव पशुपतिभक्त महर्जनलाई सन्देशसहित शिक्षण अस्पताल महाराजगञ्ज पठाएर प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गरेका हुन् ।

दोस्रोपटक मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली सोमवार अस्पताल भर्ना भएका थिए । भोलि बुधवार मिर्गौला प्रत्यारोपण गर्ने तयारी छ ।

'पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र विर विक्रम शाहदेवबाट प्रधानमन्त्री श्री केपी शर्मा ओलीको सफल मिर्गौला प्रत्यारोपणसहित शीघ्र स्वास्थ्यलाभको कामना गरिबक्सेको छ । मौसुफको शुभकामना सन्देश लिएर श्री ५ का पूर्व प्रमुख सचिव पशुपति भक्त महर्जन शिक्षण अस्पताल महाराजगञ्ज जानुभएको हो,' पाठकले फेसबूकमा लेखेका छन् ।

कोरोनाको त्रास : रोजगारीको श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगित

सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति दिन अनिश्चितकालका लागि स्थगन गरेको छ ।

चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विश्वव्यापी बनेसँगै सरकारले श्रम स्वीकृति नदिन निर्णय गरेको जनाइएको छ । 

कोभिड–१९ को सन्त्रास कम नभएसम्म श्रम स्वीकृति प्रदानको कार्य हाललाई स्थगन गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले राससलाई जानकारी दिए । कोरोनाको सन्त्रास कम हुने समयावधि अनिश्चित छ ।

अत्यावश्यकबाहेक अन्य कामका लागि विदेश नजान सरकारले आग्रह गरिसकेको अवस्थामा सो संक्रमण जोखिम रहेका मुलुकमा नेपाली कामदार नपठाउन लागिएको उनले बताए ।

‘सरकारले पनि अत्यावश्यक काममा बाहेक विदेश नजान आग्रह गरेको छ, सर्वोच्च अदालतले पनि प्रभावित मुलुकसँगको हवाई उडान स्थगन गर्न आदेश दिएको छ,’ मन्त्री यादवले भने, ‘त्यही कारण हामीले केही समयका लागि श्रम स्वीकृति प्रदान गर्न स्थगित गरेकै हो ।’

कोरोनाको सन्त्रास हटेपछि श्रम स्वीकृति प्रदान गर्ने काम नियमित हुने उनले जानकारी दिए । अत्यावश्यक काममा बाहेक, अध्ययन, घुमफिर एवं मनोरञ्जन भ्रमणका लागि विदेश नजान अनुरोध गर्दै सरकारले विदेश जान चाहने विद्यार्थीहरुलाई हाललाई स्वीकृतिपत्र जारी नगर्ने, वैदेशिक रोजगारीमा जानेका लागि पनि अत्यावश्यक अवस्थाबाहेक नजान अपिल गरेको थियो ।

दक्षिण कोरियामा कोरोनाको संक्रमण फैलिएपछि सरकारले यसअघि नै त्यहाँ जान रोक लगाइसकेको छ । विश्वभर कोरोनाको त्रास बढ्न थालेपछि बहराइन जान लागेका ३० नेपालीलाई केही दिनअघि संयुक्त अरब इमिरेट्सको दुबईबाट त्यहाँका अध्यागमन अधिकारीले फर्काएका थिए । 

ठूलो संख्यामा नेपाली कार्यरत विभिन्न श्रम गन्तव्य मुलुकमा कोभिड–१९ को संक्रमण देखिएको छ । दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स (युएई), कतार, बहराइन र ओमानमा पनि कोरोना संक्रमित फेला परिसकेका छन् ।

कोरियामा झण्डै ४० हजार हाराहारीमा नेपाली विभिन्न काम तथा पेशामा संलग्न छन् । मध्यपूर्वी मुलुकमा पनि झण्डै १० लाख नेपाली कार्यरत रहेका सरकारको तथ्यांक छ । 

नेपाल–भारत समन्वय समितिको बैठक बुधवार

नेपाल–भारतको जिल्लास्तरीय समन्वय समितिको बैठक बुधवार बैतडीमा बस्ने भएको छ ।

भारतसँग सीमा जोडिएका सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला बैतडी र दार्चुला तथा भारतको उत्तराखण्डको पिथौरागढको संयुक्त बैठक बस्न लागेको हो । 

बैठकमा भारतको पिथौरागढ जिल्लाका डिस्टिक म्याजिस्टेट (डीएम) डा. विजयकुमार जोगदण्डे, बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेल, दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको सहभागिता रहने जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय बैतडीमा सञ्चालन हुने बैठकमा पिथौरागढ, बैतडी र दार्चुलामा सुरक्षा निकायका प्रमुखको पनि सहभागिता रहने भएको छ । 

बैठकमा २ पक्षीय/बहुपक्षीयका विभिन्न २१ बुँदामा छलफल हुने बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए । सीमामा नागरिकलाई हुने समस्या, भारतीय पेन्सनधारीलाई भएको समस्या, शान्ति सुरक्षा, मानव बेचबिखन, अवैध हातहतियार, वन्यजन्तु ओखटोपहार कारोवार, दुवै देशलाई असर पुर्‍याउने बाढीपहिरो नियन्त्रण, शरणार्थी, अवैध उत्खनन्, अवैध मुद्रा नियन्त्रण, कोरोना भाइरस लगायतका विषयमा छलफल हुने जनाइएको छ । २ देशको जिल्लास्तरीय समन्वय समितिको बैठक बैतडीमा पहिलोपटक बस्न लागेको हो ।

अदालतमा आत्मसमर्पण गरेका सिद्धबाबालाई झुम्का कारागार चलान

बलात्कारका आरोपी सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले आत्मसमर्पण गरेका छन् ।

गिरीले जिल्ला अदालत सुनसरीमा पुगेर मंगलवार आत्मसमर्पण गरेका हुन् ।

जिल्ला अदालत सुनसरीबाट धरौटीमा छुटेपनि उच्च अदालत विराटनगरले उनलाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको थियो ।

सोही आदेशपछि पक्राउ पर्ने डरले सिद्धबाबा अदालतमा हाजिर भएका हुन् ।

अदालतमा आत्मसमर्पणपछि उनलाई झुम्का कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) विनोद शर्माले लोकान्तरलाई जानकारी दिए ।

'उहाँ अदालतमा उपस्थित हुनुभएको रहेछ, त्यहाँबाट पक्राउ गरी उहाँलाई झुम्का कारागार चलान गरिएको छ,' डीएसपी शर्माले भने ।

प्रधानमन्त्रीलाई सर्वसाधारणले स्वास्थ्यलाभको कामना गर्न सक्ने, जानुस् आधिकारिक बेवसाइटमा

मिर्गौला प्रत्यारोपणका लागि अस्पतालमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनको वेबसाइटमा गएर स्वास्थ्यलाभको कामना गर्ने व्यवस्था मिलाइएको छ ।

प्रधानमन्त्री ओलीको आधिकारिक वेबसाइट https://kpsharmaoli.com.np/ मा गएर प्रधानमन्त्री ओलीलाई स्वास्थ्यलाभको कामना गर्न सकिने उनको सचिवालयले जनाएको छ ।

दोस्रोपटक मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन् ।

मिर्गौला प्रत्यारोपण भोलि बुधवार प्रा.डा. प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले गर्ने बताइएको छ ।

प्रधानमन्त्री ओलीलाई भाञ्जी नाता पर्ने एक युवतीले मिर्गौला दान गर्दैछिन् ।

salt training

कमेन्ट गर्नुहोस्