२३ असार २०८३, मंगलबार

कोरोनाविरुद्ध सतर्कता : कक्षा ९ सम्मको परीक्षा ५ चैतभित्र सक्न सरकारको आग्रह

फागुन २१, २०७६
कोरोनाविरुद्ध सतर्कता : कक्षा ९ सम्मको परीक्षा ५  चैतभित्र सक्न सरकारको आग्रह

शिक्षा मन्त्रालयले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा आगामी ५ चैतभित्र सक्ने गरी सञ्चालन गर्न आग्रह गरेको छ । विश्वभर कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बढ्दै गएकाले सतर्कता अपनाउन आवश्यक भएकाले मन्त्रालयले वार्षिक परीक्षा ५ चैतभित्र सम्पन्न गर्न आग्रह गरेको हो । मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरी शैक्षिक सत्र ०७६ को कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा यथाशीघ्र सक्न सबै विद्यालयलाई भनेको छ ।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले कोरोना संक्रमणमा सतर्कता अपनाउनुपर्ने भएकाले सरकारले यस्तो निर्णय गरेको बताए । अहिले संक्रमण नदेखिए पनि जोखिम भएकाले त्यसबाट जोगिन, विद्यालयको भिडभाड कम गराउन मन्त्रालयले आग्रह गरेको हो । विद्यालयमा सभा, समारोह, वार्षिकोत्सवमा भेला हुने प्रकृतिका कार्यक्रमको आयोजना नगर्न–नगराउन पनि सरकारले आग्रह गरेको छ । आगामी ६ चैतदेखि एसइई सञ्चालन हुँदै छ । 

कोरोना प्रभावित देशमा अध्ययन अनुमति बन्द

मन्त्रालयले मंगलबारदेखि कोरोना भाइरसबाट अति प्रभावित र जोखिम भएका देशमा अध्ययन अनुमति दिनसमेत बन्द गरेको छ । चीन, जापान, दक्षिण कोरिया, सिंगापुर, इटाली, इरानलगायतका कोरोना भाइरसबाट अति प्रभावित र अति जोखिममा भएका देशहरूमा अध्ययनका लागि अनुमतिपत्र नदिने भएको हो । 

एक महिना सार्वजनिक बिदा दिन आग्रह

चिकित्सकहरूले एक महिना सार्वजनिक बिदा दिन सरकारसँग आग्रह गरेका छन् । विद्यालय, कलेज, सरकारी कार्यालयमा सार्वजनिक बिदा दिएमा धेरै मानिस आ–आफ्नो गाउँ जाने भएकाले काठमाडौं सुरक्षित राख्न सकिने उनीहरूको भनाइ छ । डा. अनुप बाँस्तोला संकटका वेला एक महिना बिदा दिएमा धेरै समस्या समाधान हुने बताउँछन् । 

टेकु भर्ना भएका आठजनामा कोरोना देखिएन

कोरोना भएको आशंकामा सरुवा रोग अस्पताल टेकुमा भर्ना भएका आठजनामा कोरोना नेगेटिभ आएको छ । टेकुको आइसोलेसन वार्डमा पाँच र जनरल वार्डमा तीनजना भर्ना भएका थिए । मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा दुईजनामा इन्फ्लुएन्जा ए देखिएको निर्देशक डा. रुणा झाले बताइन् । एकजनाको परीक्षण रिपिट गर्नुपर्ने देखिएको छ भने अन्य पाँचजनामा कुनै संक्रमण देखिएन । 

रुघाखोकी लागेका र ज्वरो आएका बिरामीलाई हवाई यात्रामा रोक

विश्व स्वास्थ्य संगठनले नेपाललाई कोराना भाइरसको उच्च जोखिममा रहेको चेतावनी दिएको भन्दै वायुसेवा सञ्चालक संघले रुघाखोकी र ज्वरो आएका यात्रुलाई जहाज नचढाउने निर्णय गरेको छ । संघले कोराना भाइरसको संवेदनशीलतालाई ध्यानमा राखी यात्रु तथा हवाईजहाजका चालक तथा अन्य क्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको बताएको छ । त्यस्तै, बुद्ध एयरले पनि छुट्टै विज्ञप्तिमार्फत रुघाखोकी र ज्वरो आएका यात्रुलाई विमानस्थलमा नआउन आग्रह गरेको छ । टिकट रद्द गरेबापत नियमअनुसार भाडा फिर्ता गरिने कम्पनीको भनाइ छ ।

कोरोनाको प्रत्यक्ष  प्रभाव ट्राफिक प्रहरीको मापसे परीक्षणमा 

कोरोना त्रासकै कारण ट्राफिक प्रहरीले सवारीचालकमा गर्दै आएको मापसे परीक्षण पुनर्विचार गर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार विनाब्रेथ लाइजर गरिने मापसे परीक्षण त स्थगित गरिसकिएको छ । ब्रेथ लाइजरबाट नियमित हुँदै आएको मापसे परीक्षण पनि स्थगित वा नियमित गर्ने भनेर ट्राफिक प्रहरी द्विविधामा छ । यसलाई टुंगो लगाउन ट्राफिक प्रहरीले विज्ञसँग परामर्शसमेत सुरु गरिसकेको छ । नयाँँ पत्रिकामा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्