
छिमेकी देश चीनबाट पैmलिएको नोभेल कोरोना भाइरस संक्रमण (कोभिड–१९) विश्वका ७७ बढी मुलुकमा फैलिँदा नेपालको प्रमुख पर्यटकीय नगरी पोखरामा उच्च सतर्कता अपनाउन थालिएको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीले बुधवार सूचना जारी गरी सजकता अपनाउन सर्वसाधारणमा आग्रह गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलद्वारा जारी सूचनामा कास्कीमा पनि संक्रमणको सम्भावना दृष्टिगत गर्दै संक्रमणको फैलावट घटाउन वा जोखिम कम गर्न धेरै भीडभाड तथा व्यापक जनसमुदाय उपस्थित हुने सार्वजनिक स्थलमा भेला, मेला, भेटघाट, जमघट र समारोहजस्ता कार्यक्रम नगर्न आग्रह गरिएको छ ।
नेपालसहित विश्वभरमै यसको जोखिम रहेको जेखाजोखा विश्व स्वास्थ्य संगठनले गरिसकेको उल्लेख गर्दै सजकता अपनाउन आग्रह गरिएको छ ।
पर्यटकको बाक्लो आउजाउ हुने पोखरामा संक्रमित भित्रिए थेप्न सक्ने क्षमता पर्याप्त नभएकाले पूर्व सचेतनामा जोड दिइएको हो । यद्यपि सुरक्षाका लागि सरकारीदेखि निजी क्षेत्रका अस्पताललाई समेत तयारी अवस्थामा राखिएको छ ।
संक्रमणको आशंका गरिएकाहरूलाई डाक्टरको प्रत्यक्ष निगरानीमा राख्ने गरी ६० शय्याको आइसोलेसन वार्ड तयारी अवस्थामा राखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

उनका अनुसार पोखरा स्वाथ्य विज्ञान प्रतिष्ठान (क्षेत्रीय अस्पताल), गण्डकी मेडिकल कलेज (जीएमसी), चरक एकेडेमी, मणिपाल शिक्षण अस्पताल आइसोलेसन वार्ड तयार भएको हो । क्वारेन्टाइनका लागि सम्भावितस्थल खोजी भइरहेको उनले बताए ।
गण्डकी प्रदेशको पर्यटकीयस्थल मुस्ताङ कोरला नाकामा सीमा जोडिएकाले त्यहाँ हेल्थ डेस्क राखेर स्वास्थ अवस्था बुझ्ने कार्य भएको डा. शर्माले बताए । पोखरामा चिनियाँ पर्यटकसँगै अन्य मुलुकका पर्यटको बाक्लो आउजाउ हुने भएकाले सुरक्षाका लागि पोखरा विमानस्थलमा पर्यटकको ज्वरो नाप्ने र स्वास्थ्य अवस्था बुझ्ने काम नियमित भइरहेको छ ।
पोखराका विभिन्न सपिङ मल, फिल्म हल, पर्यटकीयस्थल लेकसाइड, सभा सभारोहमा कम उपस्थिति हुन थालेको छ । कोरोना भाइरस संक्रमणबाट बच्न पोखरेलीहरू मास्क प्रयोग गर्न थालेका छन् ।